नेपालमा पहिलोपटक आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन हुने
असोज ९, काठमाडौं – आदिवासी जनजातिहरुको नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा हुने आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन आगामी कात्तिक १ र २ गते काठमाडौंमा हुने भएको हो ।
महासंघका अध्यक्ष जगतबहादुर बराम र उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन देश तथा विदेशका संस्थाहरुलाई निम्तो समेत पठाएका छन् ।
‘विभिन्न उद्देश्यले संसारभरका विभिन्न देशहरूमा रहेर पनि नेपाल आदिवासी जनजाति महासंघको झण्डामा गोलबन्द भई नेपालका आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिको आन्दोलनका लागि निरन्तर योगदान गरिरहेको स्मरण गर्दै गराउँदै परिवर्तित सन्दर्भमा संसारभरका नेपाली आदिवासी जनजातिहरूको बीचमा आपसी सम्बन्ध बिस्तार, सुदृढ र सांगठनिक सञ्जालमार्फत जोड्ने जोडिने उद्देश्यले आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको अध्यक्ष बरामले बताउनु भयो ।
अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल बनाउन नेफिन संघीय परिषद् सचिवालयका सम्पूर्ण पदाधिकारी र सल्लाहकारहरू, नेफिनका पूर्व प्रमुखहरू, नेफिनका आदिवासी जनजातीय संगठनहरू र सम्बन्धन संगठनहरूको तर्फबाट एक-एक जना महिला र पुरुष गरी दुई जना, नेफिनको प्रदेश समन्वय परिषद्का अध्यक्ष रसंयोजकहरू, विदेशस्थित नेफिन सम्बन्धन शाखाहरूको तर्फबाट दुई–दुई जना महिला र पुरुष गरी चार जना र आवश्यक अन्य आदिवासी जनजाति आन्दोलनका व्यक्तित्वहरू प्रतिनिधिको रुपमा उपस्थिति हुने समेत जानकारी गराएको छ ।






