चीनमा विश्वकै ठूलो विमानस्थल, दासिङ अन्तर्राष्ट्रिय विमानस्थल
एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिपिङले दासिङ अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन गरेका छन् । चीनको राजधानी बेइजिङदेखि दक्षिणमा निर्माण भएको चीनको नयाँ प्रवेश द्वारको सी जिपिङले उदघाटन गरेका हुन् ।
४५ महिना लगाएर ८० अर्ब युआन (११.२ अर्ब अमेरिकी डलर) लागतमा निर्माण गरिएको दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा १० करोड यात्रुको आवतजावत हुने अनुमान गरिएको छ । दासिङ अन्तर्राष्ट्रिय विमानस्थल आधिकारिक रूपमा सञ्चालन आएसँगै बेजिङको उड्डयनमा दुईवटा ‘हब’को युग सुरु भएको विमानस्थलले जनाएको छ ।
१६ वटा हवाई कम्पनीहरु दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा रहने छन् । १५ वटा अन्तर्राष्ट्रिय र १०१ आन्तरिकसहित ११६ हवाई मार्ग खुला गरिने बताइएको छ ।
विमानस्थलमा चारवटा धावनमार्ग, १५० वटा हवाइजहाजका लागि अवरण गर्ने स्थान र ७ हजार वर्गमिटरका टर्मिनल भवन छन् । दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुले सुरक्षा जाँचका समयमा बोर्डिङ पास देखाउनुपर्ने छैन, सबै चेकजाँच र सुरक्षाका लागि नयाँ फेसियल रिकग्निसन सिस्टम (अनुहार हेरेर पहिचान गर्ने नयाँ प्रणाली) ले गर्नेछ ।






