मनहरीमा साढे चार हजार मिटर पक्की सडक निर्माण
असोज ११, मनहरी – मकवानपुरको मनहरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७५/०७६ मा ४ हजार ६ सय ७४ मिटर सडक पक्की निर्माण गरेको छ । मनहरीको सबै जसो वडामा सडक पक्की निर्माण गरिएको छ ।
कच्ची सडकका कारण स्थानीयले सास्ती खेप्नुपरेपछी सडक पक्की निर्माण गर्ने अभियान अनुसार साढे ४ हजार मिटर भन्दा वढी सडक पक्की निर्माण गरिएको हो । गाउँपालिका भित्रमा सडकको स्लाव ढलान ४ हजार १ सय ५० मिटर र कालोपत्रे गर्ने काम ५ सय २४ मिटर गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।
पहिले ट्रयाक खोली सकिएका सडकलाई सफा गर्ने, धेरै सवारीका साधन गुड्ने सडकलाई प्राथमिकतामा दिएर पक्की बनाउँदै लगिएको छ । गाउँपालिकाले ३० हजार ८ सय मिटर सडकको नयाँ ट्रयाक खोल्ने काम गरेको छ । यसैगरी २१ हजार ५ सय ५० मिटर सडकमा ग्राभेल गरिएको अध्यक्ष उप्रेतीले वताउनुभयो ।
गाउँपालिका क्षेत्रमा ९ वटा वक्स कल्भर्ट, २२ वटा हुमपाईप कल्भर्ट, १ वटा कज्वय, एक वटा आरसीसी कल्भर्ट निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा पनि सडक निर्माणले प्राथमिकता पाएको छ । धेरै जसो वजेट सडक निर्माण र खानेपानीको क्षेत्रमा वितेको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा वढी वजेट खर्च हुने जनाएको छ ।






