आज घटस्थापना, घर-घरमा जमरा राखिँदै
असोज ११, हेटौडा – विजयादशमीको पहिलो दिन आज घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन घटस्थापना गरिन्छ ।
आजैदेखि नवरात्र आरम्भ हुन्छ । घटस्थापनाका दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ ।
आज कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ ।
माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ ।
आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २१ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । दुर्गाले महिसासुरमाथि विजय प्राप्त गरेको दिनको रुपमा विजया दशमीमा मान्यजनबाट टिका र आर्शिवाद थाप्ने चलन छ ।






