सामाजिक संजालमा अश्लील पोष्ट गर्नेहरु विरुद्ध भरतपुर महानगरद्वारा जाहेरी दर्ता
असोज १२, चितवन – भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको चरित्रहत्या हुने गरी सामाजिक संजाल फेसबुकमा पोष्ट गरिएको अश्लील श्रब्य दृश्य र स्टाटस हाल्नेहरु बिरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको छ ।
आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवन मार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी दिइएको महानगरपालिकाले जनाएको छ ।
हिजो चितवनमा भएको ज्ञानेन्द्र शाहीमाथिको आक्रमणपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर रेनु दाहालका तस्बीर जोडी अर्धनग्न तस्बीर, फेसबुक स्टाटस र फेक आइडी बनाई पोष्ट समेत गरेका थिए ।
अत्यन्तै निकृष्ट रुपमा महानगर प्रमुखको अपमान र चरित्रहत्या हुनेगरी भ्रामक पोष्टहरु सम्प्रेषण हुनु आपत्तिजनक र अमानवीय कुरा रहेकाले महानगरले कानुनी उपचार खोजेको हो ।
‘महानगर प्रमुख रेनु दाहाललाई लक्षित गरी आएका अश्लील पोष्टहरुबारे जाहेरी आएको छ’, चितवन प्रहरी प्रमुख दानवहादुर मल्लले भने ‘आवश्यक अनुसन्धान र गलत हर्कत गर्नेहरुको खोजी सुरु भइसकेको छ । आवश्यक कानुनी कारवाही हुनेछ ।’






