तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको तयारी तीव्र, २७ देशका पत्रकार नेपाल आउने

ताम्सालिङ खबर
३ श्रावण २०८३, आईतवार १४:३३

साउन, काठमाडौ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा ‘तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६’ आगामी साउन २४ देखि २७ गतेसम्म संघीय राजधानी काठमाडौंमा आयोजना हुने भएको छ । संयुक्त राष्ट्रसंघले सन् २०२२–२०३२ लाई ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशक’ का रूपमा घोषणा गरी विश्वभर आदिवासी भाषाको संरक्षण, प्रवर्द्धन र पुनर्जीवनका लागि अभियान सञ्चालन गरिरहेको सन्दर्भमा यो सम्मेलन आयोजना गर्न लागिएको हो । विश्व आदिवासी दिवस तथा फोनिजको २७औँ स्थापना दिवसको अवसर पारेर हुन लागेको यस ऐतिहासिक सम्मेलनमा फोनिजमा आबद्ध तामाङ पत्रकार संघ, किराँत राई पत्रकार संघ, तमु (गुरुङ) सञ्चारकर्मी संघ, थारु पत्रकार संघ नेपाल, मगर पत्रकार संघ, लिम्बु पत्रकार संघ तथा शेर्पा सञ्चार समूह सह–आयोजकका रूपमा सहभागी रहेका छन् ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय मुलुक भए पनि धेरै मातृभाषाहरू यतिबेला लोपोन्मुख अवस्थामा पुगेका छन् । सूचना र सञ्चारको मूलधारमा मातृभाषाको प्रयोग सीमित हुँदै गएको तथा आदिवासी समुदायका आवाज पर्याप्त रूपमा प्रतिनिधित्व हुन नसकेको वर्तमान अवस्थामा मातृभाषा पत्रकारिताको संरक्षण, सुदृढीकरण र व्यावसायिक विकासका लागि साझा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहस आवश्यक रहेको आयोजकको भनाइ छ । यही आवश्यकतालाई मध्यनजर गर्दै आयोजना गर्न लागिएको यस सम्मेलनमा नेपालसहित विश्वका २७ भन्दा बढी देशका करिब ६० जना अन्तर्राष्ट्रिय मातृभाषी पत्रकारहरू काठमाडौं आउने भएका छन् । सम्मेलनमा फोनिजका देशभरका शाखाबाट करिब ३०० प्रतिनिधि, नेवाः पत्रकार राष्ट्रिय दबुबाट करिब ४० प्रतिनिधि र विभिन्न जातीय पत्रकार संगठनहरूबाट करिब १०० जना गरी कुल ५०० जना मातृभाषी पत्रकार तथा सञ्चारकर्मीको सक्रिय सहभागिता रहनेछ । यसका साथै विभिन्न देशका आदिवासी पत्रकार संगठनका प्रतिनिधि, सञ्चार विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा मानवअधिकारकर्मीहरूको समेत उपस्थिति रहने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार सम्मेलनको उद्घाटन सत्र साउन २४ र २५ गते सञ्चालन हुनेछ भने साउन २६ गतेदेखि २७ गते बिहानसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले आठवटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा विश्वभर आदिवासी मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, अवसर र चुनौती, पत्रकारहरूको पेशागत, व्यावसायिक तथा भौतिक सुरक्षा, डिजिटल युगमा मातृभाषा सञ्चारको भविष्य, सञ्चार ससनीतिमा समावेशिता तथा भाषिक अधिकारका विषयमा गम्भीर छलफल हुनेछ । कार्यपत्र प्रस्तुतीसँगै प्यानल छलफल, अन्तरक्रिया तथा खुला विमर्शमार्फत मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, सुधारका सम्भावना, प्रविधिसँगको अनुकूलन, नीतिगत व्यवस्थापन र पत्रकारिताको व्यावसायिक सुदृढीकरणका विषयमा साझा निष्कर्ष निकालिनेछ । त्यसैगरी आदिवासी समुदायको जल, जमिन, जंगल, जैविक विविधता, जडीबुटी तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध, जलवायु परिवर्तनले आदिवासी समुदायमा पारेको प्रभाव र जलवायु न्यायमा सञ्चार माध्यमको भूमिकामाथि पनि विभिन्न सत्रहरू सञ्चालन गरिनेछन् ।

फोनिजका महासचिव समीर बलामीका अनुसार यो सम्मेलनले नेपालसहित विश्वभरका आदिवासी मातृभाषा पत्रकारहरूबीच अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय सहकार्य, ज्ञान साझेदारी तथा साझा अभियान निर्माण गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ । सम्मेलनबाट मातृभाषा पत्रकारिताको दिगो विकास, पत्रकारहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा समेत ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ । यसै क्रममा, सम्मेलनको तयारीका लागि नेवाः पत्रकार राष्ट्रिय दबुसहित विभिन्न संघ-संस्थाहरूसँग छलफल तथा बैठकहरू निरन्तर रूपमा सुरु भइसकेको महासचिव बलामीले जानकारी दिएका छन् ।

सम्मेलन अवधिमा साउन २७ गते फोनिजको २७औँ स्थापना दिवस (वार्षिकोत्सव) विशेष कार्यक्रमका साथ मनाइनेछ र सोही अवसरमा मातृभाषा पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याउने पत्रकार तथा सञ्चारकर्मीहरूलाई ‘फोनिज अवार्ड’ प्रदान गरिने कार्यक्रम रहेको छ । फोनिजका अध्यक्ष लक्की चौधरीका अनुसार सम्मेलनको समापनमा ‘काठमाडौं घोषणापत्र’ जारी गरिनेछ, जसमा मातृभाषा पत्रकारिताको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासका लागि आवश्यक नीतिगत सुधार, भाषिक अधिकारको सुनिश्चितता, आदिवासी सञ्चार माध्यमको सुदृढीकरण तथा पत्रकारहरूको पेशागत सुरक्षासम्बन्धी साझा प्रतिबद्धता समेटिनेछ । साथै आदिवासी जनजातिका अधिकार, समसामयिक सवाल, मातृभाषा पत्रकारिताको अभ्यास, उपलब्धि, चुनौती र भावी कार्यदिशा समेटिएको ‘फोनिज प्रतिवेदन’ समेत सार्वजनिक गरिनेछ । यो सम्मेलन केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई विश्वभर फैलिएका आदिवासी मातृभाषी पत्रकारहरूको साझा आवाजलाई सशक्त बनाउने र लोकतान्त्रिक, समावेशी तथा बहुभाषिक सञ्चार प्रणाली निर्माणतर्फ एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*