बच्चालाई आमाको दूध नखुवाउँदा उच्च रोगको जोखिम
काठमाण्डौ – अधिकांश आमाले बच्चालाई स्तनपान गराउनै छाडेका छन् । सन् २०११ सम्म ७० प्रतिशत पूर्ण स्तनपान हुँदै आएकोमा अहिले घटेर ६६ प्रतिशत पुगेको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । जबकी सन् २०३० सम्म ९० प्रतिशत आमाले पूर्ण स्तनपान गराउने लक्ष्य राखिएको छ । सरकारले स्तनपानलगायत पोषण परामर्शका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अधिकांश सुत्केरी आमाले पूर्ण स्तनपान गराउन छाडेपछि बच्चाको उमेर बढ्दै जाँदा जटिल प्रकृतिका रोगको जोखिम बढेको छ । चिकित्सकका अनुसार बच्चाले उपयुक्त समयमा आमाको दूध नपाउँदा भविष्यमा मोटोपन, मधुमेहलगायत रोग लाग्ने डर हुन्छ । आमाको दूध उपयुक्त समयमा नखुवाउँदा बच्चा ठूलो भएपछि छिटोछिटो रोगी हुने डाक्टर बताउँछन् । डा. अतुल उपाध्यायका अनुसार आमाको बिगौती दूधमा रोगसँग लड्न सक्ने तŒव भएकाले सो दूध खुवाउनुपर्छ । उनले भने, ‘अनुचित बजारीकरणले पनि आमाको दूध खुवाउन छाडियो । अर्कोतर्फ केही आमा रोजगारीमा जाँदा पनि बच्चाले दूध खान पाउँदैनन् ।’
स्थानीय तहमा स्तनपान कक्ष छैनन् – अधिकांश सरकारी कार्यालय र स्थानीय तहमा स्तनपान कक्ष नहुँदा आमाहरूलाई समस्या हुने गरेको छ । तर, स्थानीय तहअन्तर्गतका पालिकामा स्तनपान कक्ष स्थापनाका लागि २० हजार रुपैयाँका दरले १ करोड ५० लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाका प्रमुख डा. केदार पराजुलीले बताए । उनले भने, ‘पोषणमा १ अर्ब १७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । हाम्रो चाहना प्रत्येक पालिकाले बजेट विनियोजन गरून् भन्ने हो ।’
स्तनपानले सौन्दर्य घटाउने मान्यता – आधुनिक जीवनशैलीको अनुसरण, स्तनपानले सौन्दर्य घटाउने मान्यतालगायत कारणले महिलाले आफ्ना सन्तानलाई स्तनपानको साटो अन्य दूध तथा खाद्यान्न खुवाउने गरेको स्वास्थ्य विज्ञ बताउँछन् । पछिल्लो तथ्यांकअनुसार शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने नेपाली आमा ५५ प्रतिशत मात्र छन् ।
‘फर्मुला मिल्क’ को भर – आमाले दूध खुवाउन छाडेर ‘फर्मुला मिल्क’को भर पर्ने गरेका छन् । काठमाडौं उपत्यकाभित्र ५७ प्रतिशत आमाले बजारमा पाइने बट्टामा राखिएको दूध खुवाउने गरेको पाइएको छ । एक वर्षसम्मका ७९ दशमलव ६ प्रतिशत शिशुले स्तनपानको अवसर पाउने गरेका छन् ।
यस्तै, दुईदेखि तीन वर्षसम्मका ७२ दशमलव २ प्रतिशत र ४ देखि ५ वर्षसम्मका ४० दशमलव ९ प्रतिशत बालबालिकाले स्तनपान गर्ने गरेका छन् ।
स्तनपान कसरी गराउने – जन्मेको १ घण्टाभित्र स्तनपान सुरु गनराउनुपर्छ । ६ महिनासम्म केवल स्तनपान मात्र गर्ने र ६ महिनापछि थप पूरक आहारको साथै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपान गराउनु पर्नेहुन्छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने अनुचित बजारीकरणको अन्त्य गर्ने डाक्टर बताउँछन् । शिशु जन्मिएको १ घण्टाभित्रमा आमाको बिगौती दूध अनिवार्य खुवाउनुपर्छ । आमाको बिगौती दूधले भविष्यमा बालबालिकालाई कुपोषणलगायतका रोगबाट बचाउँछ ।






