लामखुट्टे मार्ने फगर मेसिनले स्वास्थ्यमा गम्भीर असर हुने चिकित्सकहरुको भनाइ
भदौ २७ , काठमाडौं – गत बुधबार भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेत लामखुट्टे मार्ने फगर मेसिन लिएर बस्तीमा पसे । उनी फगर मेसिन लिएर मनहराको सुकुम्बासी बस्ती पुगेका थिए । डेंगुको डर बढिरहँदा अहिले डेंगु प्रभावित क्षेत्रमा लामखुट्टे मार्न देशका विभिन्न ठाउँमा फगर मेसिन चलाइएको छ ।
क्रुबी फाउन्डेसन नामक संस्थासँगको सहकार्यमा अहिले डेंगु प्रभावित क्षेत्रमा औषधि छर्ने काम भइरहेको हो । स्थानीय सरकार तथा एनजीओ तथा आईएनजीओहरुले फगर मेसिन चलाइरहेका छन् । ललितपुर महानगरपालिकाका केही वडा र काठमाडौं महानगरपालिकाका १२, १३ र १४ नम्बर वडाभित्र औषधी छरिसकिएको छ । अन्य ठाउँमा पनि फगर मेसिन चलाउने काम भइरहेको छ ।
तर, चिकित्सकहरुले बताए अनुसार यसरी वस्तीमा फगर मेसिन चलाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्छ । डेंगु एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टे विशेष गरी झाडीमा भन्दा घरमा बस्ने भएकाले फगर मेसिन वस्तीमा चलाएर डेंगु गराउने लामखुट्टे सखाप हुन्न । घरमा फगर मेसिन चलाउनु झनै घातक हुने चिकित्सकहरु बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन सरकारले वस्तीमा फगर मेसिन चलाएर गलत गरेको बताउँछन् । फगर मेसिनले स्वास्थ्यमा नकरात्मक असर पार्ने भन्दै उनी भन्छन्, ‘डेंगु गराउने लामखुट्टे त घरभित्र मानिसहरु सँगै हुन्छ । त्यसैले वस्तीमा फगर मेसिन चलाएर मानव स्वास्थ्यलाई असर हुने हो घरभित्र बसेका लामखुट्टेलाई केही हुन्न ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ पनि फगर मेसिनले मानव स्वास्थ्यलाई नकरात्मक असर पार्ने बताउँछन् । स्वास्थ्य मन्त्रालयसँग फगर मेसिन भए पनि मानव स्वास्थ्यलाई नकरात्मक असर पार्ने भन्दै नचलाएको उनको कथन छ। उनका अनुसार फगर मेसिनले धेरै भन्दा धेरै लामखुट्टेको लार्भाहरु नष्ट गर्न सक्दैन । यो मौसममा लामखुट्टेले धेरै लार्भाहरु छाड्ने भएकाले फगर मेसिन प्रभावकारी हुन्न ।
प्रवक्ता श्रेष्ठका अनुसार ललितपुरमा फगर मेसिन चलाएपछि त्यहाका स्थानीयले जनावरलाई घाँस खुवाउनु हुन्छ कि हुन्न भनेर सोधेका थिए । मानवलाई झैं जनावरको स्वास्थ्यलाई असर पार्ने भन्दै पानी नपरिकन घास नखुवाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको थियो।
प्रवक्ता श्रेष्ठ भन्छन्, ‘हामीले फगर मेसिन डेंगु विरुद्धको लामखुट्टेका लागि प्रभावकारी नभएको र मानव स्वास्थ्यलाई नकरात्मक असर नपार्ने भन्दै नचलाउन निर्देशन दिएका छौं।’ स्वास्थ्य मन्त्रालयले फगर मेसिन नचलाउन निर्देशन दिए पनि फगर मेसिन विभिन्न ठाउँमा चलिरहेको छ । स्थानीय तहका जनप्रतिनिधि र सांसदहरू नै यो काममा संलग्न छन् । #अनलाइन खबरबाट साभार






