कोरोना संक्रमीत बेलायती राजकुमार चार्ल्स आयुर्वेदिक औषधिले निको
चैत्र, एजेन्सी – विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको अचुक औषधि अहिले सम्म कहिंकतै पनि आविष्कार भएको छैन । थुप्रै मुलुकका बैज्ञानिकहरु यो औषधिको आविष्कारमा जुटिरहेका छन । केहीले आफुहरु सफलताको नजिक पुगेको दावी गरेका छन । यस्तैमा बेलायती राजकुमार चार्ल्समा देखिएको कोरोना संक्रमणलाई आयुर्वेदिक औषधिबाट निको पारिएको नयाँ समाचार आएको छ ।
भारतको बेंगलोरमा सञ्चालित हेल्थ रिसोर्टका एक डाक्टरले यस्तो दावी गरेका हुन । भारतका केन्द्रीय आयुष राज्यमन्त्री श्रीपद नाइकले हालै आफ्नो निवासमा सञ्चारकर्मीहरुसंगको भेटमा यो विषयमा चर्चा गरेका थिए ।
नाइकले भने, ‘बेंगलोरमा मथाई नाम गरेका एक आयुर्वेदिक डाक्टरले आयुर्वेदिक हेल्थ रिसोर्ट सञ्चालन गर्दै आएका छन । उनको हेल्थ रिसोर्टको नाम सौख्य हो । बेलायती राजकुमार चार्ल्समा भएको कोरोना संक्रमणलाई आफ्नो आयुर्वेदिक औषधिले निको बनाएको डाक्टर मथाईले मलाई फोनमा बताएका हुन ।’
राज्यमन्त्री नाइकलाई डाक्टर मथाईले बताएअनुसार राजकुमार चार्ल्सको उपचारका लागि प्रयोग गरिएको औषधि आयुर्वेद र होमियोप्याथीको मिश्रण हो । डा. मथाईबाट पाएको जानकारीका आधारमा राज्यमन्त्री नाईकले आयुर्वेद र होमियोप्याथिक औषधि निकै प्रभावकारी हुने दावी पनि गरे ।
यद्यपि राजकुमार चार्ल्स निको भए नभएकोबारे बेलायत सरकारले कुनै औपचारिक टिप्पणी नगरेको भारतीय अनलाईन पत्रिका अमर उजालाले जनाएको छ ।
२५ मार्चमा कोरोना संक्रमण पुष्टि भएपछि ७१ बर्षीय चार्ल्स क्वारेन्टाईनमा बसेका थिए ।






