नाकाबन्दीको दुई बर्ष: कतार झन बलियो बन्दै
काठमाडौं : कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दैछ कतार ।
२०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो । तर कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिए न। ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू भन्छन्, ‘हामी नाकाबन्दी बिर्संदै गएका छौं ।’
नाकाबन्दीले ठूलो पाठ सिकाएको र त्यसबाट कतार बाहिर निस्केको निष्कर्ष कतारको दरबारले निकालेको छ । ‘दुई वर्षमा कतारले आफूलाई अझ बलियो, सशक्त र परिष्कृत गरेको छ’, नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अरहैलले भने, ‘नाकाबन्दीले हामीलाई बलियो मात्र बनाएन पाठ समेत सिकाएको छ ।
हाम्रा नागरिकले नाकाबन्दी भुलिसके । तर मित्र मुलुकले जे गरे त्यो मानवीयता भने होइन ।’ बाँच्न पाउने अधिकार कुण्ठित गर्ने निर्णय लिनु आफंैमा दुर्भाग्यपूर्ण रहेको निष्कर्ष कतारको छ । ‘हामीले त बिर्सिसकेका छौं । तर अन्तर्राष्ट्रिय मञ्चमा यो विषय उठाउन छाडेका छैनौं,’ उनले भने, ‘राष्ट्रसंघदेखि धेरै ठाउँमा यो विषय उठाएका छौं । ’
सन् २०२२ मा फिफा विश्वकपका लागि अग्रसर कतारले कुनै काम रोकेको छैन । कतार अहिले भौतिक संरचना निर्माणमा वैदेशिक लगानीका लागि सुरक्षित वातावरण दिन जुटेको छ । हवाई उडान घटाएको छैन भने ठूला पानीजहाज नआउने ठाउँमा साना पोर्ट बनाएर काम चलाइरहेको छ । अन्नपूर्ण पोष्टबाट






