‘यो राज्यसत्ता हाम्रो होइन’

-खोजराज गोले
९ पुष २०७६, बुधबार ०९:४४

एउटा अन्तरवार्तामा युग पाठकज्यूले भन्नुभएको रहेछ- ‘हाम्रो राज्यसत्ता नै हाम्रो होइन ।‘ यही अन्तरवार्तालाई प्रकाशन गर्नेक्रममा शिलापत्रडटकमले भने ‘यो राज्यसत्ता नै हाम्रो होइन‘ शीर्षक जुराएको रहेछ । शीर्षक देख्दै झसङ्ग भएँछु । मानौं बाहिर गेटमा आएर कसैले बेलको स्वीच थिज्दैछ ।

धेरै साथीहरू छन् । अग्रजहरू पनि छन् । तिनीहरू मदेखि हच्किन्छन्; तर्सिन्छन् । मानौं पड्किनै लागेको टाइमबम काखमा आइपरेको छ । या त भनौं बिनाकामको झुसिलकिरोले खेद्न थालेको छ । कत्तिले त जुत्ताको माला लगाइदिन्छु समेत भन्न पछि परेका छैनन् । एकाध अग्रज छन्- केही कुरा अमिल्दो/अल्टर जस्तो लाग्यो भने खोजराज जस्तो भन्छन् ।

मानौं खोजराज भनेको खुम्रेकिराको पनि उत्तानो परेर घस्रने जातको प्राणी हो । प्रायः खुम्रेकिरा हातखुट्टाको प्रयोग गर्दै हिँड्छन् । एकप्रजातिको खुम्रे; त्यसको पनि हातखुट्टा हुन्छन् तर तिनीहरू त्यत्तिसम्मन् अल्टर स्वभावको हुन्छन्; जो आफ्नो भएका हातखुट्टाका समेत प्रयोग गर्दैनन् । केही नपाएर उत्तानो पर्छन् र जबरजस्त ढाँड रगडेर घिस्रन्छन् । भएको छोडेर नभएको खोजेपछि अरू के भन्नु र ? नाम मात्रै खोजराज काम चाहिँ अल्टर कुराले जसलाई भेटे पनि घोचराज ! यो एउटा प्रसङ्ग मात्रै भो ।
प्रसङ्ग युग पाठकज्यूको ‘हाम्रो राज्यसत्ता नै हाम्रो होइन‘मा छु ।

हामीले राज्यसत्ता त बनाएका हुन्छौं । हाल पनि छँदैछ । हामीले बनाएका राज्यसत्ताको रिमोट विदेशी र विदेशी डलरसँग छ । पाठकज्यूको तर्क यस्तै पाइयो । यहीनेर शीर्षकमा चाहिँ ‘यो राज्यसत्ता नै हाम्रो होइन‘ जुराएको रहेछ । म पनि यही शीर्षकसँग सहमत छु । मौका पाउनसाथ, म पनि ‘यो राज्यसत्ता नै हाम्रो होइन । त्यसैले मेरो होइन । तपाईँको पनि होइन‘ भन्दै आएको छु । यो पनि एउटा बुँदा हो; जसले केही अग्रज तथा दौँतरीका नजरमा मलाई उत्तानो परेर घस्रने खुम्रेकिरो बनाउँदै आएको छ ।
पाठकज्यूको तर्कमा मेरो असहमति छैन ।

यद्यपि, त्यतिमात्रै पनि होइन भन्ने चाहिँ छ । हो; यो राज्यसत्ता भनेको त विदेशीले डब्लुडब्लुएफ खेल्ने ठाउँ हो भन्दा फरक पदैन । यसको रिमोट विदेशीका हातमा छ । डलर बिना यसले श्वास तान्न सक्तैन । मानौं आइसियुमा रहेको बिमारी हो नेपाली राज्यसत्ता ! नाकमा लगाइदिएको अक्सिजन हो डलर । यसै भन्दा देश, सार्वभौमसत्ता, राष्ट्र र राष्ट्रियता विरोधी कपुत भन्ने आरोप लगाउन पनि सक्छन् ।

भन्छन्; फ्रान्सेली क्रान्तिपछि स्वतन्त्रता भन्ने बुँदालाई लिएर उदरवादीहरू उदाए । समानताको बुँदाले मार्क्सवादी (साम्यवादी)लाई जन्मायो । भ्रातृत्व/डिग्निटीले इनडिजिनिजम् (पहिचानवादी)लाई जन्माएको छ । उदारवाद भन्छ, अन्ततः कर्पोरट हाउसहरुले आवश्यक सामग्रीको उत्पादन गरिदिने छन् । त्यसपछि समाज स्टेटलेस चरणमा प्रवेश गर्नेछ । मार्क्सवाद भन्छ, सर्वहारावर्गको अधिनायकत्वसँग समाजमा रहेका स्टेटहरु स्वतः एक हुनेछ र साम्यवादमा प्रवेश गर्नेछ ।

यहाँ उदारवाद हुन् या मार्क्सवाद दुवैका अन्तिम लक्ष्य चाहिँ स्टेटलेस समाज नै रहेछन् । जसको अन्तिम लक्ष्य स्टेटलेस छ अनि तिनैले देश र देशत्वलाई नै राष्ट्र वा राष्ट्रियता अनि सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डताको पक्षमा सपथ खान्छन् भने त्यस्तालाई नकचरो नभनी अरू के भन्ने ? त्यसैले खोजराज गोलेलाई अराष्ट्रिय तत्त्व भनेछन् वा भन्ने छन् भन्दैमा छुमलतब !

प्रसङ्ग ‘यो राज्यसत्ता नै हाम्रो होइन‘ हो । कथित नेपाली राज्यसत्तालाई म चाहिँ कम्तीमा पनि ‘हाम्रो‘ भन्दिनँ । भन्नु हुँदैन भन्छु किनकी यसका लागि आह्वान गरिएका चुनावहरूमा सम्पू्ण नेपालीले भाग लिएका थिएनन् । उमेरका कारण कतिलाई भोट दिन दिएनन् । कोही विदेशमा रहेकाले भोट दिन पाएनन् । कोही ओछ्यानमा रोग वा मृत्युसँग लड्दै थिए । कोहीले बहिष्कार नै भने । कोहीले चाहेर वा नचाहेरै भोट दिएनन् । यसरी हेर्दा- भोट दिएकाका भन्दा नदिएकाका सङ्ख्या धेरै छ । त्यसैले भोट दिएकाका सरकार र सत्ता हो । अन्यको पनि हो भन्नुको कुनै तुक छैन ।

मेरै घरको सदस्य सङ्ख्या छ जना हो । एकजनालाई नाबालक भनेर भोट दिनबाट वञ्चित गरिसकेको थियो । बाँकी पाँच जनाले भोट दिन पाउनेछौ भनेका थिए । पाँचजनामध्ये मेरो बुवा वैदेशिक रोजगारीका क्रममा हुनुहुन्थ्यो । म काठमाडौंमा चाउरे जीवन व्यतित् गर्नमै व्यस्त ! भाइ शिक्षक पेशाको बहानामा यतै रल्लिइरह्यो । बुवाले जमानामा पाँच कक्षासम्म पढ्नु भएछ । मैले स्नातकोत्तर अनि भाइ पनि स्नातकोत्तरमा कुद्दै थियो ।

भाइले राजनीतिमा मनै गरेन । बुवा विदेशमा मतलबै भएन । म आफैँ उत्तानो परेर घस्रने खुम्रेकिरो ! बाँकी सदस्यहरू- मेरी आमा औंठाछापे भन्दा पनि नबुझ्ने ! मेरी जीवनसाथी एघार बाह्र पास नगरेपनि दश चाहिँ पास गरेकी नारी ! यसप्रकार पुरुष जतिले भोट दिएनछौं । दुर्इजना नारी सदस्यहरू गाउँमा भएका बखत परेकोले भोट दिएछन् । यो एउटा उदाहरण हो । यसैका आधारमा पनि यो राज्यसत्तालाई ‘हाम्रो‘ भन्दा पनि ‘यो‘ भन्ने शब्दको चयन गर्न मन पराएको हुँ ।

वास्तवमा ”यो राज्यसत्ता” नै हो । हाम्रो भएको भए त खायो खाएन ? के गर्दैछ ? कस्तो छ ? यस्तै यस्तै जिज्ञासाका साथ खोज्न आउँथ्यो होला तर आजसम्म कहिल्यै आएको थाहा छैन । यसले त हत्या र हिंसाबाट आएकाहरुलाई मात्रै आफ्नो ठान्दोरहेछ । त्यसैले हत्याराका राज्यसत्ता हो यो ! चोर, डाँका, लुटेराका हो । कुनै जमानामा अनेक बहानामा मान्छेका हत्या गरेका हत्याराहरूलाई थुनेर राख्ने जेल नै राज्यसत्ता भएको छ । यस्तै तर्क गर्दा धेरैले गाली गरेका छन् । खुस्केछ भनेका छन् ।

राज्यसत्ता कहिल्यै हाम्रो थिएन । छैन । हुने पनि छैन । यसको जन्म नै मानव हत्या जस्ता जघन्य अपराधबाट भएको हो । त्यसरी नै हुने कुरो हो । यसले सिमानाको नाममा एउटै समुदायलाई अलगथलग पार्दै आएको छ । राज्यसत्तामा रहेका सबै नेता भनाउँदाहरू हत्यारा नै हुन् । तिनले कुनै न कुनै समयमा कुनै न कुनै मान्छेको हत्या गरेकै छन् । अहिले तिनका अनेक नमूनाहरू देखिनेक्रम जारी छ ।

स्मरणीय तथ्य- राज्यसत्ता भनेको राजनीतिक कुरा हो । राजनीति बारे अध्ययन अध्यापन गराउने नै राजनीतिशास्त्र हो; जसको जन्म नै आदिवासी(मूलवासी)लाई दबाउने र फिरिङ्गेलाई स्थापित गर्ने गराउने हो । नपत्याए राजनीतिशास्त्रको जन्मदाताले किन कुन मोडमा कसरी राजनीतिशास्त्रलाई जन्माएका थिए भन्ने प्रसङ्ग खोजेर पढ्नुस् ।

त्यसो भए ”अबको बाटो” भन्ने प्रश्न स्वाभाविक हुन्छ । यदि तपाईँ साँच्चैको मान्छे र न्यायप्रेमी अनि मानवीयताले युक्त छ कि छैन भनी जाँच्ने कसी पनि यही जिज्ञासा तपाईँबाट आउँछ कि आउँदैन भन्नेबाट हुनेछ । यो जिज्ञासा तपाईँमा भए वा नभएपनि यत्ति चाहिँ भन्छु- माथि उल्लेख गरिएअनुसारका उदारवाद र मार्क्सवाद भनेको संसदमा रमाउनेहरू नै हुन् । जहाँ उनीहरूकै भाषामा भन्नुपर्दा- खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने स्थल हो । तिनीहरू अन्ततः पूँजीवादको दलदलमा सहजता महशुश गर्छन् ।
तिनीहरू प्राकृतिक स्रोतको दोहनलाई विकास ठान्छन् । मानवकेन्द्रवादमा उभिन्छन् । त्यसमा पनि नातावाद, फरियावाद, कृपावाद, पार्टीवाद अनि गूटवादमा लिप्त रहन्छन् ।

देशलाई नै राष्ट्र र राष्ट्रियता हो भनेर गलत पाठ घोकाउँछन् । एउटै समुदायलाई उसको उत्पत्तिस्थल तथा दाजुभाइबाट अलग पार्छन् । लखेटेरै अलगथलग पार्छन् । परिणामतः तिब्बत (चीन) र नेपालका बीच अवस्थित कतिपय गाउँहरू अलगथलग भएका छन् । माइती र ससुराली जान पाइरहेका छैनन् । भारतले कहिले नाकाबन्दी त कहिले प्याजसमेत रोकेर नेपालीत्वलाई कुरीकुरी गरिरहन्छ । बङ्गलादेश, बर्मा र फिजीमा पुगेका नेपालीमूलका मान्छेलाई बोर्डरमै रोकेर स्वाधिन राष्ट्रियताको नारा लगाइरहन्छन् । के आफ्नो पैतृकभूमिमा पाइला टेक्न पाउने अधिकारबाट वञ्चित गर्नु नै तिनका आधुनिक लोकतन्त्र हो त ?

यो पनि बुझनुस्– नेपालमा कसैले माने वा नमाने पनि ताम्सालिङ भूखण्ड स्पष्ट छ । कथित नेपाल नामक देश निर्माणको क्रममा ताम्सालिङ भूखण्डका तामाङमाथि भएका अमानवीय अत्याचारको क्षतिपूर्ति सम्बन्धी के गर्ने होला ? पृथ्वीनारायण शाहको गुनगान गाएर राष्ट्रियताको धक्कु लगाउनेहरूले किन तिनका पृथ्वीनारायण शाह, ताम्सालिङ भूखण्डका तामाङको नजरमा हत्यारा हो भन्ने बुझ्दैनन् । पृथ्वीनारायण शाहको चार वर्ण छत्तीस जातको साझा फूलबारीलाई हिन्दूबारी बनाएर हुन्छ ? किन पृथ्वीनारायणको गुनगान गाउनुको अर्थ यहाँका तामाङ तथा नेवारका मुटुको घाउमा कोतर्नु हो भन्ने बुझ्न सकिरहेका छैनन् ? पृथ्वीनारायणद्वारा स्थापित सत्ता तिम्रो प्राणभन्दा प्यारो हुँदा र त्यसै भन्दै गर्दा; यहाँका तामाङ र नेवारले पनि तामाङ र नेवार राष्ट्र नै हाम्रो प्राणभन्दा प्यारो भनेछन् भने के होला ? तामाङ र नेवार राष्ट्र ! प्राणभन्दा प्यारो भन्न पाउने कि नपाउने ? किन ??
त्यसो भए ताम्सालिङबाट अन्यलाई लखेट्ने त ? जस्तालाई त्यस्तै भन्ने हो भने सम्भव हुन्छ । लखेट्नै पर्छ ।

होइन, मानवतावादको अतिरिक्त प्रकृतिवाद पनि हो । हामी छोट्टा छैनौं । महान् आदिवासी हौं भन्ने हो भने सामयिकसंयोजनवादमा विश्वास गर्नु पर्छ । समयसापेक्ष रूपमा आपसी संयोजनको विकल्प हुँदैन । यही मतमा अडिक रहेर उठाइएका प्रसङ्गलाई नजरअन्दाज गर्ने हो भने भन्न सकिन्न । यी सबै समस्याका समाधान गर्न केवल उदारवाद तथा मार्क्सवादले मात्रै सक्ने छैनन् । यसको एकमात्रै उपाय भनेको पहिचानवाद नै हो । इनडिजिनिजम् नै हो । यही निस्कर्षलार्इ समयमै चिन्न नसक्नु भयानक दुर्घटनालाई निम्तो दिनु हो ।

जाँदा-जाँदै; राज्यसत्ताले जेलमा कुहाउँदा पनि गोमांस नछोडेका तामाङका सन्तानले कदापि हार्ने छैनन् । गोमांसकै एक प्रकरणमा- तामाङले सेमजोड राज्य नै गुमाउनु परेको थियो । राजासहित कैयौं सन्तान गुमाउनु परेको थियो । भूमि गुमाउनु परेको थियो । पृथ्वीनारायण शाह भनिएकाले स्थापना गरेको कालोसत्ताको घोर अत्याचारमा पिसिनु परेको थियो । गाई गोरुका सिनो खाना पनि नौ पैसाका दरले मेगजिन नामक कर तिर्नु परेको थियो । मरेको सिनो खाँदा पनि मारेर खाएको भन्दै जेलमा सडाएका थिए । तैपनि कहिल्यै हार मानेन् । निरन्तर गोमांस प्रयोग गर्दै आएका छन् । यही नै तामाङ राष्ट्रको पहिचान हो; जसले पृथ्वीनारायण शाह भनिएको व्यक्तिले स्थापना गरेको हिन्दू एकात्मक राज्यसत्ताको विरुद्ध निरन्तर आवाज बुलन्दै गर्दै आएको छ । अर्थात् हाम्रो आफ्नै सत्ता छ भनेर सुनाउँदै आएको छ ।

अझै पनि– तामाङले माघेसङ्क्रान्तिको सट्टा सीप दिवसको अवसरमा ह्लोछरलाई व्यापकताका साथ मान्न छोड्ने छैनन् । राज्यसत्ताले ‘चैतेदशैँ‘ भन्दा होइन ‘सेरकेम‘ भन्नेछन् । साउनेसङ्क्रान्ति, जनैपूर्णिमा र कुशेऔँशीको उर्दी जारी गर्दै गर्दा, काउण्टर सत्ताको रूपमा ‘गोन ङ्ह्य‘लाई ज्ञान दिवस भनेर मान्न छोड्ने छैनन् । विजयदशमीमा राज्यसत्ता रमाउँदा ठ्यक्कै काउण्डटर दिँदै म्हेनङ मान्नेछन् । यम पञ्चकको रौनकताले प्रहार गर्दाखेरि आदिवासी भूमिपुत्रहरूले कृषि तथा बलिहाङसँग सम्बन्धित पर्वको रूपमा राज्यसत्ताको वैकल्पिक धार पक्रने छन् । कथित सत्ताले प्रदेशहरूलाई नम्बरको आधारमा स्थापित गरौं भन्दाखेरि पहिचानको प्रसङ्ग उप्काउने छन् ।

लिम्बु, खम्बु, मदेश, ताम्सालिङ, मगरात, तमुवान, थरुहट र खसान आदि भन्न छोड्ने छैनन् । गोमांस प्रकरणमा गुमेको सेमजोङ (ताम्सालिङ)लाई गोमांसलाई पुनः खाद्यसंस्कृतिको रूपमा स्थापित गराएर फिर्ता लिनेछन् । आफूहरूले म्हेनिङ मनाउँदै गरेको बेला खोसिएको तेमाल (ताम्सालिङ) अब तिनीहरूले बडादशैँ मनाउँदै गर्दा म्हेनिङद्वारा फिर्ता गराउने छन् ।

यत्ति मात्रै गर्न सकेमा पनि बिग्रिएको सत्ताले आफ्नो हैसियत चिन्नेछ । यो रहेछ भनेर बुझ्नेछ । असली हैसियतमा सत्ता आउनेछ । ‘यो‘ र ‘हाम्रो‘ भनेर विवाद गर्दै गरेको राज्यसत्ता साँच्चै प्रकृतिप्रदत्त सत्तामा परिणत हुनेछ । त्यतिखेरै यो धर्तीमा युटोपियालाई युटोपियाको सट्टा वास्तविकतामा परिणत गर्न सक्नेछौं । जय पहिचानवाद !!! (खोजराज गोलेको ब्लकबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*