पहिचान नं. १:- तामाङ भाषा

अमृत योन्जन तामाङ
५ भाद्र २०७८, शनिबार १४:५१

कस्तुरीको सुगन्धको खोजीमा कस्तुरीमृग रणवन घुमेर हिडछ, उसलाई आफ्नै नाइटोमा कस्तुरी रहेको थाहा हुँदैंन भने जस्तै तामाङ लोकसाहित्यमा रहेको अथाह ज्ञानविज्ञान, जीवन दर्शन र दृष्टिकोणबारे हामी पनि अनभिज्ञ छौ र वाह्य दर्शनको पछि कुदिरहेका छौं युगौंदेखि। मातृभाषा प्रतिको ताम्बाको दृष्टिकोणले हाम्रो जीवन दर्शनको छनक दिइरहेको छ। यस्ता मौलिक चिन्तन दर्शनको खोजी, अध्ययन अनुसन्धान र पहिचान गरेर संरक्षण र सम्वद्र्धन गर्नु पर्दछ। वाह्यजगतमा प्रचारप्रशार गरिनु पर्दछ। अहिलेको समय Localized the global मात्र होइन Globlized the local पनि हो।

१. भाषाविज्ञानको दृष्टिमा तामाङ भाषा

१.१ तामाङ भाषाः तामाङ जातिको आफ्नो मातृभाषा छ। तामाङहरु आफ्नो भाषालाई ‘तामाङ ताम’ वा ‘तामाङ ग्योत’ भन्दछन्। बोलचालीमा ‘तामाङ ताम’ शब्दावलीको प्रयोग हुन्छ। ‘ताम’को अर्थ कुरा हुन्छ। पुराना तामाङ दस्तावेजहरुमा ‘तामाङ ग्योत’ शब्दावलीको प्रयोग भएको छ। ‘ग्योत’को अर्थ भाषा हुन्छ। ‘ग्योत’को स्थानीय उच्चारण ‘ग्योइ’ पनि हो। तामाङ–इतर समुदायले पनि उनीहरुको भाषालाई तामाङ भाषा नै भन्ने गर्दछन्।

१.२ तामाङ भाषाको परिवारः मानिसको वंश हुन्छ र ऊ परिवारमा बस्दछ। मानव जस्तै भाषाको पनि आआफ्नै परिवार हुन्छ। नेपालमा चार परिवारका भाषा बोलिन्छन् – (क) भोटबर्मेली, (ख) भारोपेली, (ग) ड्रभेडियन र (घ) एस्ट्रो–एसेयाटिक।

तामाङ भाषा चिनिया–तिब्बती महापरिवार भित्रको सदस्य हो। विभिन्न भाषाशास्त्रीहरुले विभिन्न आधार भाषाको वर्गीकरण गरेका छन्। माइकल नुनान (२००५ः१) अनुसार यो भाषा भोट–बर्मेली, बोडिक, बोडिस, तामाङसमुह अन्तर्गत पर्दछ। उनका अनुसार तामाङ, गुरुङ, मनाङ्बा, नारफु, थकाली र छन्त्याल भाषा तामाङ समुहका अर्थात् एकै परिवारका भाषा हुन् । डेभिड ब्रेडले (इ. २००२)ले मगर जातिको रुपमा रहेको काइके समुहले बोल्ने काइके भाषालाई पनि तामाङ समुहभित्र राखेका छन् । काइके भाषामा तानको व्यवस्था छ ।

१.३ तामाङ भाषाको प्रकारः तामाङ वाक्यमा पदक्रम कत्र्ता–कर्म–क्रिया (SOV) हुन्छ अर्थात् सर्वप्रथम कर्ता अनि कर्म र अन्तमा क्रियापद आउँछ। यो विशेषता नेपालका सबै भाषाहरुमा पाइन्छ। भोट–बर्मली परिवारका अन्य भाषाहरु झै यो पनि लिङ्गविहिन भाषा (Genderless language) हो। वाक्यमा क्रियात्मक सर्गहरुले पुरुष र वचन चिन्हित गर्दछ तर लिङ्गलाई चिन्हित गर्दैनन् अर्थात् क्रियापदको आधारमा महिला पुरुष चिनिदैंन (उदा० जा खाजि। जामे खाजि)। यस भाषामा दुइ काल (Tense) छन् – भूत र अभूत। पक्ष (Aspect) र भाव (Mood) पनि पाइन्छ। यो तान (Tone) भएको भाषा हो। यो भाषामा नामानुगामी (Postposition) छ र उर्जावत्व (Agentive-marker) पाइन्छ।

तामाङ भाषा एकअक्षरीय (Mono-syllabic) भाषा हो। साँसको एक झोँकामा उच्चारित हुने वर्ण वा वर्ण समूहलाई अक्षर भन्दछ। एक अक्षरीय भाषामा प्रत्येक अक्षरको अर्थ लाग्छ। तामाङ अक्षरको संरचना (व्यञ्जन)(व्यञ्जन)स्वर(व्यञ्जन) अर्थात् (C)(C)V(C) रहेको छ अर्थात् स्वर वर्णका अगाडि दुइओटा व्यञ्जन वर्ण र पछाडि एउटा व्यञ्जन वर्ण आउन सक्दछ।

१.४ वर्ण व्यवस्थाः प्रत्येक भाषाको आफ्नै वर्ण (Phoneme) व्यवस्था हुन्छ। तामाङ भाषामा ५ ओटा व्यतिरेकी मूल स्वरवर्ण पाइन्छ – आ इ उ ए ओ। पाँच ओटै स्वरको दीर्घ रुप पनि छ। यस्तै ६ ओटा दुइस्वर (आइ, उइ, एइ, ओइ, आउ, इउ)को पनि व्यवस्था छ। यसै गरी ३१ ओटा व्यञ्जनवर्णको पहिचान भएको छ। ङ न म य र ल व वर्णको महाप्राण (Aspiration) पनि पाइन्छ । ग ज ड द ब वर्णका समवर्ण (घ झ ढ ध भ) पनि छन्।

क ख ग (घ) ङ ङ्ह

च छ ज (झ)

ट ठ ड (ढ)

त थ द (ध) न न्ह

प फ ब (भ) म म्ह

य य्ह र र्ह ल ल्ह व व्ह स ह ।

१.५ क्षेत्रीय भेदः भाषावैज्ञानिकहरुका अनुसार यस भाषाका मुख्यतः दुइ भेद छन् – त्रिशुली नदीदेखि पश्चिमतिर बोलिने भेदलाई पश्चिमी तामाङ भाषा र यस नदीका पूर्वमा बोलिने भेदलाई पूर्वीय तामाङ भाषा मानिएको छ। पश्चिमी भेदमा ‘अ’ वर्णका प्रधानता पाइन्छ भने पूर्वीय भेदमा ‘आ’ वर्णको प्रधानता पाइन्छ।

२. राष्ट्रिय परिदृश्यमा तामाङ भाषा

राष्ट्रिय जनगणना २०११ मा तामाङ जातिले पाँचौ स्थान ओगटेको छ भने तामाङ भाषाले पनि पाँचौ स्थान ओगटेको छ। आदिवासी जनजातिहरुमा मगर र थारुपछि तेस्रो स्थानमा तामाङ जाति देखिन्छ। तर भोट–बर्मेली भाषा बोल्ने वक्ताको आधारमा हेर्दा यो जाति पहिलो स्थानमा स्थापित छ। तामाङ जातिको जनसङ्ख्या १,५३९,८३० (५.८ प्रतिशत) र वक्ताको सङ्ख्या १,३५३,३११ (५.१ प्रतिशत) छ। यस तथ्याङ्क अनुसार कूल तामाङ जनसङ्ख्याको ८७.८९ प्रतिशत तामाङहरु आफ्नो भाषाप्रति वफादार छन् र मात्र १२.११ प्रतिशत अर्थात् १८६,५१९ जना तामाङहरुले आफ्ना मातृभाषा बिर्सेको देखिन्छ।

भाषायोजनाकारको दृष्टिमा तामाङ भाषा सुरक्षित (Safe Language) भाषा हो। दश लाखभन्दा धेरै वक्ता भएको भाषाहरू यस श्रेणीमा पर्दछन्।

३. कानुनी मान्यता

नेपालको संविधान २०६३ ले मातृभाषाको रुपमा बोलिने नेपालका सबै भाषालाई राष्ट्र भाषाको रुपमा स्थापना गरेको हुनाले तामाङ भाषा पनि नेपालको राष्ट्र भाषा हो। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन (२०५८)को अनुसूचीमा तामाङ जाति सूचिकृत छ। यसै गरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेलको वर्गीकरण अनुसार यो जाति सीमान्तकृत समुहमा पर्दछ। आधारभूत शिक्षा (कक्षा १–८) मातृभाषामा हुनेछ भनेर संवैधानिक व्यवस्था भएको छ। शिक्षा ऐन, कानुन तथा बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिका २०६६ पनि जारी भइसकेकोले तामाङ भाषा लगायतका मातृभाषामा पठनपाठन कानुन सम्मत छ।

भारतको सिक्किम राज्यद्वारा १९९६ मार्च २७ का दिन तामाङ लगायतका भाषालाई राज्य भाषाको मान्यता प्रदान गरेको छ।

४. तामाङ भाषाको प्रयोग क्षेत्र

तामाङ भाषा मूलतः काठमाडौं उपत्यकाको वरिपरिका भूक्षेत्र (हिमालदेखि चुरेसम्मको पहाडी भूभाग)मा बोलिन्छ। यस क्षेत्रका सबै वृद्धवृद्धा, वयस्क, युवायुवती, किशोरकिशोरी र केटाकेटी अर्थात् सबै उमेर समुह र पुस्ताकाले तामाङ भाषामा कुराकानी गर्दछन्। घरमा, साथीभाइ र कामकाजमा अर्थात् भान्छा, मेलापातदेखि जीवनयापनको हर क्षेत्रमा उनीहरु आफ्नो मातृभाषाको प्रयोग गर्दछन्। विभिन्न जीवन संस्कार तथा कूलपूजा लगायतका स्थानीय पूजाआजामा पनि मातृभाषाको प्रयोग हुन्छ। यसले भाषाको जीवन्तता सबल बनाएको छ। भाषाप्रतिको अभिवृत्ति निकै सकरात्मक देखिएको छ। तामाङ गाउँघरको हाटबजारमा मिश्रित भाषा प्रयोग हुन्छ – कतै तामाङ, कतै नेपाली।

तामाङ भाषीहरु पाल्तो रुपमा नेपालभरि नै फैलिएका छन्। नेपालबाहिर सिक्किम, दार्जिलिङ, आसाम लगायतका पूर्वोत्तर भारतीय राज्यहरु, भुटान र म्यानमा (बर्मा) पनि बोलिन्छन् भन्ने छ।

५. तामाङ भाषाको विकास

५.१ पत्रपत्रिकाः २०१६ सालमा म्हेन्दो शीर्षकमा हस्तलिखित पत्रिका सम्पादन भएको थियो। त्यसपछि २०३३ मा थ्वीनडेल पत्रिका प्रकाशित भयो। यसपछि बुलेटिन (२०४२), फुलबारी (२०४२) र स्योम्हेन्दो (२०४४) मासिकको प्रकाशन प्रारम्भ भयो। हाल ७८ शीर्षकमा पत्रपत्रिका प्रकाशित भइसकेका छन्। आधादर्जन पत्रपत्रिका हाल पनि नियमित रुपमा प्रकाशित भएरहेका छन्। साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्धवार्षिक, वार्षिक र समसामयिक पत्रपत्रिका प्रकाशित भइसकेका छन्। तामाङ जर्नल शीर्षकमा जर्नल पनि प्रकाशित भएको छ।

५.२ आधुनिक सञ्चारः सर्वप्रथम २०५१ साल भदौ १ गते देखि रेडियो नेपालबाट पाँच मिनटको तामाङ भाषाको समाचार प्रसारण प्रारम्भ भयो। २०५४ देखि आधा घण्टाको तामाङ भाषाको कार्यक्रम पनि रेडियो नेपालबाटै प्रारम्भ भयो। यी समाचार प्रशारण र कार्यक्रम अहिले पनि जारी छ। यसपछि यो भाषा विभिन्न एफएम रेडियो, टेलिभिजन (सगरमाथा, एनटिभी प्लस), युटुप, फेसबुक लगायतका सामाजिक सञ्जाल आदि आमसञ्चारका आधुनिक क्षेत्रहरुमा पनि प्रयोग भइरहेको छ। युवाहरु एसएमएस मार्फत् पनि आफ्ना सन्देश प्रवाह गर्ने गर्दछन्। विद्युतीय सञ्चारका सबै माध्यममा तामाङ भाषा रमाउने गरेको छ। विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका सूचना, विज्ञापन आदि पनि तामाङ भाषामा प्रचार–प्रशार हुने गर्दछ।

५.३ श्रव्य तथा श्रव्य–दृश्य सामग्रीः अनादि कालदेखि गाउँघर, वनजङ्गल, पाखा पखेरुमा गुञ्जिरहेका तामाङ गीत २०३६ पछि आधुनिक सञ्चार क्षेत्र – रेडियो नेपालमा पनि प्रवेश ग¥यो र २०४२ मा चन्द्रकुमार मोक्तानले तामाङ व्हाइ गीती एल्बम नै उत्पादन गरे। यसपछि यो विधा निरन्तर अगाडि छ। हाल ३४० भन्दा धेरै तामाङ गीती एल्बम उत्पादन भइसकेको छ। यसै गरी जयनन्द लामाद्वारा निर्देशित सेमरि छोरङान फिल्मको २०५२ सालमा प्रदर्शन भएपछि श्रव्य–दृश्य सामग्रीले पनि खाता खोल्यो र यो पनि आफ्नै गतिमा छ। हालसम्म १३० भन्दा धेरै तामाङ फिल्म बनिसकेका छन्। यसका साथै सयौंको सङ्ख्यामा तामाङ भाषामा श्रव्य–दृश्य सामग्रीको उत्पादन भइरहेको छ।

५.४ शिक्षाः २०५६ देखि शैक्षिक क्षेत्रमा पनि यस भाषाले प्रवेश गर्यो। विषयको रुपमा तामाङ भाषाको पठनपाठन हुने गरेको छ। २०६३ देखि माध्यमको रुपमा पनि यो भाषामा पठनपाठन प्रारम्भ भएको छ। रसुवा जिल्लाका छओटा विद्यालयमा यस भाषाको माध्यमबाट पठनपाठन भइरहेको छ। केही बाल शैक्षिक सामग्री पनि तयार भएका छन्।

५.५ साहित्य सिर्जनाः सर्वप्रथम जर्ज ग्रियर्सनले इ. १९०८ मा लिङ्ग्विस्टिक सर्वे अफ इण्डियामा तामाङ भाषाको दुइओटा कथा अनुवाद गराएका थिए। तामाङ भाषामा देखिएको यी नै पहिलो साहित्य सामग्री हो। प्रजातन्त्रको स्थापनापछि बुद्धिमान मोक्तान (इ. १९५६), सन्तवीर लामा (इ. १९५७) लगायतका आधा दर्जन लेखकहरुले तामाङ लोकसाहित्यका कृति प्रकाशित गरे। प्रजातन्त्रको पुनस्थापनापछि अमृत योन्जन (२०४७)ले तामाङ आधुनिक साहित्यको जग बसाले। हाल तामाङ भाषामा १३७ भन्दा धेरै साहित्यिक कृति प्रकाशित भइसकेका छन्। यसअन्तर्गत कविता विधाका साथै आख्यान (कथा र उपन्यास), निवन्ध र नाटक अनि समालोचनाका ग्रन्थहरु पनि पर्दछ। मौलिक कृतिका साथसाथै विभिन्न विधाका अनुदित साहित्य पनि मौलाउदै छ। शैक्षिक पाठ्यसामग्री मार्फत् बालसाहित्य पनि लेख्न थालिएको छ। तामाङ डाजाङ लगायतका आधा दर्जन साहित्य संस्थाहरु तामाङ साहित्यको सिर्जनामा निरन्तर सक्रिय छन्।

५.६ भाषा विकासः प्रत्येक भाषाको आफ्नै वर्णमाला हुन्छ। तामाङ भाषाको वर्णमालाको पहिचान भएको छ (हे. १.४)। शब्दकोश र व्याकरणका पुस्तक पनि प्रकाशित भएका छन्। लेखनमा मानकीकरणको प्रयास भइरहेको छ। अमृत योन्जन–तामाङको तामाङ व्याकरणको प्रारुप (२०४९) र तामाङ व्याकरण (२०५४) प्रकाशित छ। यसै गरी अमृत योन्जन–तामाङको तामाङ शब्दकोश (२०५४) र तामाङ वृहत् शब्दकोश (२०७०) अनि डि.बी. योन्जनको तामाङ–नेपाली–अङ्ग्रेजी शब्दकोश (इ. २०१०) प्रकाशित छ। मार्टिन मजाउदोको तामाङ–नेपाली–फ्रेन्च–अङ्ग्रेजी

शब्दकोश र रमेशकुमार तामाङको व्यवहारिक नेपाली–नेपाली–अङ्ग्रेजी–तामाङ शब्दकोश प्रकाशनोन्मुख छ। दुपवाङ्गेल मोक्तान, रमेशकुमार तामाङ लगायत एक दर्जन जतिले तामाङ शब्दावली निकालेका छन्।

५.७ लिपिः तामाङ भाषा लेखनमा देवनागरी लिपिका साथै छिटपुट रुपमा सम्भोट लिपिको पनि प्रयोग भइरहेको छ। आसामका तामाङहरु आसमी लिपिको प्रयोग गर्दछन्। भाषावैज्ञानिकहरु अन्तर्राष्ट्रिय वार्णिक वर्णमाला (International Phonemic Alphabets – IPA) को प्रयोग गर्दछन्।

६. भाषाबारे तामाङ दृष्टिकोण

जातीय पहिचानको प्रमुख आधार मातृभाषा हो। प्राज्ञ वैरागी काइँलाले ‘जाति र भाषालाई अलग गरेर हेर्न सकिँदैन’ भनेका छन् भने डा. हर्क गुरुङसहितले ‘मातृभाषा नभए जातीय पहिचान नै लोप भएर जान्छ’ भनेका छन्। मातृभाषा संस्कृतिको वाहक हुन्छ। मातृभाषा लोप भयो भने संस्कृति पनि लोप भएर जान्छ। यस कुरालाई निकै पहिले नै हाम्रा पूर्खाले बुझेका रहेछन्। तामाङ लोकसाहित्यमा मातृभाषाको महत्वलाई ताम्बाले यसरी अभिव्यक्त गरेका छन् –

चिनिया, भोटे, नेवारी,
तामाङ, खम्बु, होल्माली
बोल्छन् आफ्नै भाषाले
भाषा त पूर्खाको आशिर्वाद
भाषा त देशको गहना हो
आफ्नो भाषा न छोड्नोस्
हराउँछ ताम्बा, फैलिन्छ पाप
सन्तान, धर्म सब जान्छ
अरूले हामीलाई के भन्लान्
आफ्नो भाषालाई नछोडौँ
चिताएको पुग्नेछ।
– सन्तवीर लामा (१९५७ः२६)

यस लोकगीतमा मातृभाषालाई पूर्खाको आशिर्वाद (विरासत) मानेका छन् र देशको गहना (सम्पदा) हो भनेका छन्। आफ्नो भाषा छोडेमा ताम्बा (संस्कृति) हराउने, पाप फैलिने, सन्तान, धर्म, जाति सबै नष्ट हुने अर्थात् पहिचान मेटिने र मातृभाषा बोलेमा इच्छाएको पुग्ने अर्थात् आत्मसम्मानको अभिवृद्धि हुने जस्ता अवधारणा पनि अभिव्यक्त भएका छन्। यस लोकगीतबाट तामाङहरुले मातृभाषालाई निकै महत्वका साथ हेरेका रहेछन् भन्ने पुष्टि हुन्छ। मातृभाषामा जातीय संस्कृति, पहिचान, आत्मसम्मानका साथै पूर्खाको विरासत आदि जोडिएका हुन्छन् भन्ने जीवनदर्शन स्थापित भएको प्रस्टै देखिन्छ। भाषा सम्वन्धी यस अवधारणालाई पूर्वीय दृष्टिकोण (Oriental perspective) को रुपमा प्रस्तुत गर्न सकिन्छ र गर्नु पर्दछ। यत्ति प्रष्ट आवधारणा अन्य लोकजीवनमा अभिव्यक्त भएको पाइएको छैन।

यसै गरी तामाङहरुले मातृभाषालाई देश र समाजमा सदासर्वदा रहिरहने विरासत र अमूर्त सम्पदाको रुपमा पनि हेरिएको देखिन्छ–

राङला धर्म राङला छ्योइ
राङ्ला किपट ठिमला ग्योइ
राङला ह्युल्रि चिनिला
राङ्ला ह्युल्बारि ब्रेलनिला।
(आफ्नो धर्म, आफ्नो भाषा
आफ्नो किपट अनि संस्कृति
आफ्नै देशमा रहन्छ
आफ्नै समाजमा मिल्दछ ।)
– सन्तवीर लामा (१९५७ः३१)

मातृभाषा सम्वन्धी यस्ता चिन्तन–मनन र जीवन–दर्शनको परिपालन तामाङ समुदायले हालसम्म पनि दैनिक जीवन र लोकव्यवहारमा उतारिरहेका छन्। राष्ट्रिय जनगणनाको प्रतिवेदन २०११ ले यस तथ्यलाई प्रतिविम्बित गरेको छ। यस प्रतिवेदनले ८७.८९∞ तामाङहरु आफ्नो मातृभाषाप्रति प्रतिवद्ध छन् भनेर देखाएको छ।

अफ्रिकाका किप्लाङात चेरुइयोतले भनेका छन् – ’हालसम्मको अवलोकनबाट के प्रष्ट भएको छ भने भाषा हराउनु भनेको संस्कृति हराउनु हो र संस्कृति हराउनु भनेको अमूल्य ज्ञान पनि हराउनु हो।’ एक जना आदिवासी महिला ग्लोभिया एन्जाल्डना (१९८७)ले भनेकी छिन् –

जातीय पहिचान र भाषिक पहिचान भनेको
एउटै सिक्काका दुइ पाटा हुन्
र म मेरो भाषा हुँ
म मेरो आफ्नै भाषाप्रति गर्व गर्न सक्दिनँ भने
म आफूप्रति नै गर्व गर्न सक्दिनँ ।
र अमेरिकी आदिवासी डारिल बेब विल्सनले भनेका रहेछन् –

“We must know the white [man’s] language to survive in this world. But we must know our language to survive forever.” – Darryl Babe Wilson

‘यस संसारमा बाँच्नका लागि हामीले अवश्य नै सेतो (मान्छेको) भाषा जान्नु पर्दछ तर सर्धैसधैं बाँच्नका लागि हामीले हाम्रै भाषा जान्नु पर्दछ।’ – डारिल बेब विल्सन

चेरुइयोत, एन्जाल्डना, विल्सन आदिको दृष्टिकोण भन्दा पनि निकै गहिरो, फरक र सान्दर्भिक देखिएको छ मातृभाषाबारे हाम्रा ताम्बाको दृष्टिकोण। यसैले मैले ताम्बाको दृष्टिकोणलाई पूर्वीय दृष्टिकोण भनेको हुँ। पूर्वीय सभ्यतामा यस प्रकारको दृष्टिकोण हालसम्म देखा परेको छैन।

 

७. सारांश
१. कस्तुरीको सुगन्धको खोजीमा कस्तुरीमृग रणवन घुमेर हिडछ, उसलाई आफ्नै नाइटोमा कस्तुरी रहेको थाहा हुँदैंन भने जस्तै तामाङ लोकसाहित्यमा रहेको अथाह ज्ञानविज्ञान, जीवन दर्शन र दृष्टिकोणबारे हामी पनि अनभिज्ञ छौ र वाह्य दर्शनको पछि कुदिरहेका छौं युगौंदेखि। मातृभाषा प्रतिको ताम्बाको दृष्टिकोणले हाम्रो जीवन दर्शनको छनक दिइरहेको छ। यस्ता मौलिक चिन्तन दर्शनको खोजी, अध्ययन अनुसन्धान र पहिचान गरेर संरक्षण र सम्वद्र्धन गर्नु पर्दछ। वाह्यजगतमा प्रचारप्रशार गरिनु पर्दछ। अहिलेको समय Localized the global मात्र होइन Globlized the local पनि हो। आदिवासीहरुमा विश्वलाई दिन सक्ने धेरै दृष्टिकोण रहेका हुन्छन्। त्यो तामाङमा पनि छ।

२. अर्को मातृभाषाको महत्व बुझेपछि आफ्ना मातृभाषा विर्सेका तामाङहरुलाई भाषा सिकाउन आवश्यक छ। जनगणना २०११ अनुसार १२.११∞ अर्थात् १८६,५१९ जना तामाङहरुले आफ्ना मातृभाषा बिर्सेका छन्। जनगणना २००१ अनुसार ८.००∞ अर्थात् १०३,१५९ जना तामाङहरुले मात्र आफ्ना भाषा बिर्सेका थिए। आवश्यक परेमा सांस्कृतिक सन्दर्भमा स्काइभबाट समेत तामाङ भाषाका कक्षा लिन सकिन्छ।

३ मातृभाषामा ज्ञानको अथाह भण्डार हुन्छ। उदाहरणको लागि त्यो (That) शब्दको लागि तामाङ भाषामा तोजा, माजा, केजा, होजा शब्दको प्रयोग हुन्छ। यी शब्दले दिशाको बोध गरिराखेको हुन्छ। तोजा म्हिसे गोजा बासि खाजि – त्यो मान्छेले खुकुरी ल्याएर आयो भन्यो भने तामाङहरु तलतिर भाग्नेछ किनकि उसलाई दिशाको ज्ञान हुन्छ तर नेपालीभाषीहरु चारैतिर हेरेर बस्नेछ। यसै गरी जुका शब्दको लागि तामाङ भाषामा तीनटा शब्द छन् – म्लित (म्लिःइ), तिबात (तिबाःइ) र ताङबात (ताङ्बाइ)। नेपालीमा जुका शब्दले विशेष अर्थ बोक्दैन तर तामाङ भाषीका लागि म्लित नाकमा पस्ने जुका हो भने तिबात खुट्टामा टोक्ने र ताङबात शीरतिरबाट झर्ने ठुलो जुका हो। यसले जुकाको प्रकार मात्र होइन भौगोलिक ज्ञान पनि संगालेको छ। यस्तै ज्ञानको भण्डारनले गर्दा नै मातृभाषाको महत्व बढेको हुन्छ।

४. बालबालिकाले मातृभाषा बोल्ने छोडे ७ दशकपछि नै भाषा मर्छ भन्ने भाषावैज्ञानिक विश्लेषण छ। भाषाका मुख्य संरक्षक भनेको बालबालिका हुन्। उनीहरुसँग कुराकानी गरेर मात्र होइन मातृभाषामा शिक्षण गरिनु आवश्यक छ। मातृभाषामा शिक्षा भनेको बहुभाषिक शिक्षा हो र बहुभाषिक शिक्षा स्थानीय संस्कृतिमा आधारित हुन्छ। यसले गर्दा बालबालिकाले एकातिर गुणस्तरीय शिक्षा पाउँछ, ज्ञानका हर क्षेत्रमा बालबालिकाको पहुँच वृद्धि हुन्छ भने अर्कोतिर स्थानीय संस्कृतिको मानसम्मान पनि हुन्छ अर्थात् सांस्कृतिक परिवेशमा बालबालिकाले शिक्षा हासिल गर्नेछन् र स्वतः मातृभाषाको संरक्षण र सम्वद्र्धन हुनेछ।

५. हामीले बालशिक्षामा ध्यान दिनसकेका छैनौं। हामीले बाल साहित्यको मात्र होइन कुनै पनि बाल शैक्षिक सामग्रीको उत्पादन गर्न सकेका छैनौं। बालबालिकामा पठन संस्कृतिको विकास हुन आवश्यक छ। पठन संस्कृतिको विकासको लागि बाल सन्दर्भ सामग्रीको आवश्यकता पर्दछ। प्रशस्त मात्रमा बाल साहित्यको उत्पादन गरिनु आवश्यक हुन्छ। बालबालिकालाई विद्यालयमा पठाउँदैन वा बोर्डिङमा भर्ना गर्दैमा बालबालिकाले उचित शिक्षा पाउन सक्दैन। ड्रग एडिक्ट किशोरकिशोरीहरु पढेका मात्र होइन, अङ्ग्रेजीमा खर्राट देखिएका छन्। बालोचित शिक्षाका लागि बुबाआमा र अभिभावकहरु गोठालो जस्तै ध्यानी हुनु सक्नु पर्दछ। बाल शैक्षिक सामग्रीको ज्ञान हुन पर्दछ। हामीले बालशिक्षालाई २० वर्षे योजना बनाएर योजनावद्ध ढङ्गले लागु गर्न सकेको खण्डमा मातृभाषाको संरक्षण मात्र हुने होइन तामाङ सभ्यताको नयाँ क्षितिज उघारिने छ। बालबालिकाको लागि २० वर्षे लगानी भनेको तामाङ संस्कृति र सभ्यताको नौले विहानी ल्याउनु हुनेछ। त्यस पछिका तामाङ पुस्ताले तामाङ पहिचान र सभ्यतालाई नै सदासर्वदा शिखरमा राखिरहने छ। त्यस तर्फ हाम्रो ध्यान जान आवश्यक छ।

६. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ र आदिवासी जनजाति सम्वन्धि आइएलओ महासन्धी नं १६९ ले आदिवासी जनजातिका ९ ‍ओटा पहिचानहरु मध्ये मातृभाषालाई पहिलो स्थानमा राखेको छ। यस लेखबाट पनि भाषाको महत्व सिद्ध भइसकेको छ। यसर्थ यसलाई बचाउन आवश्यक छ। भान्छाकोठाबाट नै मातृभाषामा बोलचाल सुरु गरिनु पर्दछ र सार्वजनिक समारोहमा समेत यथोचित ढङ्गले प्रयोग गरिनु पर्दछ। मातृभाषामा बोलचान गर्नु भनेको पहिचानलाई जीवन्त राख्नु हुनेछ।

हामी सबैको कदम ठीक दिशातिर उन्मुख हुनसकोस्।

धन्यवाद।
अमृत योन्जन–तामाङ
जेठ ३ २०७१

 

यसमा तपाइको मत

Your email address will not be published.


*