पायल्स निको पार्ने घरेलु विधि
पायल्स रोगका बिरामीहरु दिन प्रतिदिन बढ्दो अवस्थामा छन् । दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन बढ्ने चिकित्सकहरु बताउँछन् । कब्जियत नै पायल्सको मुल कारण हो । जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले भित्रका रक्तशिरालाई तन्काइ दिन्छ ।
यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ । पायल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ । पायल्स रोग निको पार्ने केही घरेलु विधि यहाँ प्रस्तुत गरिएको छ । यी विधि अपनाउँदा पायल्स हुन नदिन र पायल्स भएकाहरुलाई निको पार्न उपयोगीसिद्ध हुनेछ ।
पायल्स भएका विरामीहरुका लागि घ्यूकुमारी अचुक औषधी हो । पायल्स भएमा विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ । एक दिनमा ३–४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ।
काँचो केरा उसिनेर बिहान–बेलुका खाँदा पनि पायल्स रोगीका लागि निकै फाइदाजनक हुन्छ । पायल्सका रोगीले तारेको(भुटेको तथा रेशारहित खाना खानु हुँदैन । कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ । अलिभ (जैतुन)को तेल लगाउँदा पायल्सका विरामीहरुका लागि आराम मिल्छ । मूलाको रस बिहान बेलुका खाँदा पायल्सका रोगीलाई फाइदा हुन्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ ।
दिसा गर्दा समस्या हुनु नै यसको खास लक्षण हो । मलाशयमा भारीपन हुने, दिसा राम्रोसँग नहुने, दुख्ने जस्ता सुरुवाती लक्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दुखाई बढी हुन्छ ।
गुद्वारमा मासुको डल्ला निस्कने, त्यसमा चिलाउने हुन्छ । कब्जियत आउन नदिनका लागि खानपानमा सर्तकता अपनाउनु पर्छ । किनभने अपच हुने खानेकुराहरु, जस्तो कि मैदाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भुटेका, जंक फूड, मसलेदार, मासुजन्य खानेकुरा कब्जियतको कारण बन्छ ।
पायल्स भएको अवस्थामा बोसोयुक्त, तारेको, भुटेको, मसलेदार, मासुजन्य, दुधजन्य, मैदाबाट बनेका, कार्बोनेटेड ड्रीकं आदिको सेवन गर्नु हुँदैन । मदिरापान, धुमपानले पनि यसलाई जटिल बनाउँन सक्छ ।






