लेखक पाख्रिनको जन्मजयन्तीको अबसरमा अन्तरक्रिया गरि मनाइयो

काठमाण्डौ – तामाङ साहित्यमा अग्रणी योगदान दिएको लेखक सन्तवीर लामा पाख्रिनको १२२ औं जन्मजयन्तीयको अबसरमा अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ ।
नेपाल तामाङ घेदुङ, भाषा, साहित्य तथा प्रशिक्षण विभागको आयोजनामा आइतबार घेदुङको संघीय सभाहलमा स्वर्गीय पाख्रिनको सम्झनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेको संघीय सांसद हितबहादुर तामाङले मानिसको सामन्य चिन्तनले साहित्यको सिर्जना गर्न नसकिने बताउँदै स्वर्गीय सन्तवीर लामा पाख्रिनको असामन्य चिन्तन र असामन्य व्यक्तित्वकै कारण राजनीति, साहित्य र प्रशासनिक क्षेत्रमा सफलता हासिल गर्न सकेको बताउनु भयो ।
मानवशास्त्री डा. मुक्तसिंह लामाले बहुआयामिक व्यक्तित्वका धनी स्वर्गीय सन्तवीर लामा रामेछापको तिल्पुङमा जन्मेर दश वर्षको उमेरमा दार्जिलिङ पुगेको र उनले तामाङ साहित्य क्षेत्रमा ‘ताम्बा काइतेन व्हाइ रिमठिम’, ‘स्येबुस्येम’ र ‘न्हाङबा साङ्गे’ पुस्तक प्रकाशन गरेको, राजनीतिमा राणा शासन विरुद्धको आन्दोलनमा लागेर दुईवटा जिल्ला झापा र इलामको बडाहाकिमसम्म भएको र व्यापारमा समेत सफलता हासिल गर्न सफल रहेको चर्चा गरेका थिए ।
त्यस्तै, सोही कार्यक्रममा नेपाल तामाङ घेदुङ इजरायल शाखाले हालै सम्पन्न भएको आफ्नो पाँचौं वार्षिक उत्सवको उपलक्षमा आयोजित प्रथम अन्र्तराष्ट्रिय तामाङ व्हाइखा (कविता) प्रतियोगिताका विजेता कविहरुलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरेका थिए ।
विजयी स्रष्टाहरु प्रथम रुपक जमरा ग्लान तामाङ, द्वितीय मणिक तामाङ, तृतीय फूलकुमार बोम्जन र चौथोमा युवराज लामालाई प्रमुख अतिथि हितबहादुर तामाङले नगद रु. १५ हजार, रु. १० हजार, रु. ५ हजार र रु. १५ सय र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।