नेकपाको अध्यक्षद्वयलाई संसद ओमबहादुर ग्लानको मर्मस्पर्सी पत्र

तामसालिङ खबर
२२ पुष २०७६, मंगलवार १९:२१

पुस २२, हेटौडानेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने निर्णय पछि अहिले नाम र राजधानीको बिषयले प्रदेशभर बहसको बिषय बनेको छ । नेकपाको अधिकांश संसदहरु समेत केन्द्रको निर्णय प्रति रुष्ट छन् ।

त्यस्तै, पहिचानको आधारमा नेवा: ताम्सालिङ राख्नु पर्छ भन्दै नेवा: ताम्सालिङ समन्वय समितिले प्रदर्शन तथा सभाको कार्यक्रम गरिरहेको अवस्थामा छ । पछिल्लो चरणमा नेतृत्वबाट नै बाग्मतीको नामकरण आइरहदा प्रदेश ३ को प्रदेश संसद तथा नेकपाको प्रदेश कमिटि सदस्य ओमबहादुर ग्लानले पार्टीको नेतृत्वमा रहेको अध्यक्षद्वयलाई लेखिएको मर्मस्पर्सी पत्र हेर्नुहोस् –

मेरा आदरणीय अध्यक्षद्वय
लाल अभिवादन
नेवा: ताम्सालिङ प्रदेशबाट ।
लेखनीय कुरा खासै थिएन तर आफ्नो नेता ज्यूहरुको विशेष समयमा विशेष ढङ्गले याद आउँदो रहेछ । मन अस्थिर, बेचैन बन्दोरहेछ यहाँहरुसँग भेट नहुँदा । सायद मनको उकुसमुकुस बाँड्न नपाएर होला । त्यसैले चन्द्र शमशेरले अन्त्य गरेको स्त्री सती प्रथालाई सम्झेर २०७६ मा राजनीतिक र सैद्धान्तिक सती जान नसकेको व्यहोरा अवगत गराउँदै एउटा चिट्ठी लेख्ने चेष्टा गरिरहेको छु ।

म अत्यन्त सोझो मान्छे हुँ । मेरो इमान्दारी भन्दा कयौं गुणा सोझो मान्छे मैले बाङ्गो हुने ज्ञान पाएको आभाष भइरहेको छ आज । जसले मलाई बाङ्गो हुने ज्ञान दिए मनै देखि आभारी छु । मेरो पिता तिनीहरू नै हुन् । मेरा जननी तिनीहरू नै हुन् । जसले सचेत हुन र आत्म निर्णय गर्न सक्ने आत्मनिर्भर बनायो ।

जसले मेरो अज्ञानी सोझोपनको फाइदा उठाएर अहिले सम्म राज गरे तिनले गरेको गल्तिको पुस्तौं सम्मलाई पनि माफी पाउन योग्य छैन उनीहरू । मेरो ज्ञानचेतले यही फैसला गर्न आदेश गर्यो । उसले गल्ति जे गरे त्यो गल्ति आफूले गर्नु विनासको बाटो हो । अपराधको शुरुवात हो । तसर्थ म बाट त्यो गल्तिको पुनरावृत्ति नहोस् भनेर उल्का ध्यान दिन्छु । त्यही भएर म बाहुन जस्तो देखिन सक्छु कि सक्दिन ? म क्षेत्री जस्तो, जनजाति, दलित जस्तो, सिमान्तकृत तथा अल्पसंख्यक जस्तो देखिन्छु कि देखिँदैन ? बुद्धिस्ट, हिन्दू, मुस्लिम, क्रिश्चियन जस्तो देखिन्छु कि देखिँदैन भनेर म बारबार आफुलाई जोखिरहन्छु, अनि दाजिरहेछु । किनकी बहु-जातीय, बहु धार्मिक, बहु-सांस्कृतिक मुलुकमा संविधानले व्यवस्था गरेको बहुपहिचान र धर्मनिरपेक्ष मुलुकमा छौँ हामी।

हिजो २४० वर्ष अर्थात् नेपालीको औसत आयु अनुसार मेरो ४ पुस्ता गुज्रिदा नेपाली हुनलाई खस भाषा बोल्न र दौरा, सुरुवाल र ढाका टोपी लाउन पर्छ र दशैं तिहार मान्नुपर्छ अनि पात्रो अनुसार चाडपर्व मान्नुपर्छ भनेर छोराछरीहरूलाई सिकाउने अभिभावक बनी सकेका थियौँ तर तपाईंहरू जस्ता महान व्यक्तित्वहरुको जन्म भयो । जसले धेरै अदृश्य कुराहरु पर्दा खोलेर देखाई दिनु भयो हामीलाई । हामीले देख्यौँ । थाहा पायौँ । हामीलाई ललाई फकाई हात समातेर डोर्याउदै सिकाउनु भयो । कति महान् हुनुहुन्छ तपाईंहरू । कति खुल्ला सहृदयी युगपुरुष हुनुहुन्छ । मुक्तिदाता तपाईंहरू नै हुन् । हाम्रो पुस्तौं पुस्ता ले बिर्सने छैन । जबसम्म तपाईंहरूले गल्ति गर्नुहुन्न ।

म सोच्छु कहीले कहीँ की २४० वर्ष सम्म श्री ५ महाराजाधिराजले श्री ५ युवराजधिराजलाई वंशको आधारमा अधिकार हस्तान्तरण गर्दा जातिवाद भएन । राणा सेनापतिले राणा सेनापति खोजी- खोजी पद बुझ बुझारथ गर्दा जातिवाद भएन । आफ्नो नातेदार मुख्य पदहरूमा चाँजोपाजो मिलाएर देशको ब्रह्मलुट भइरहँदा जातिवाद भएन । एउटै धर्म, एउटै चाडवाड मान्नु पर्दा पनि साम्प्रदायिक भएन । जातिवाद भएन । हो मैले नेवा: ताम्सालिङ भन्दा जातिवाद भयो । यसो भन्दै कामीडाँडाबाट कराउँदै छन् । ढकालटार बाट कराउँदै छन् । बाहुन तिल्पुङबाट चिच्याउँदै छन् । नेपालथोकबाट, न्यौपाने डाँडाबाट कराएको कराए छन् । त्यहाँ जातीय युद्ध मच्चिएको जस्तो गरी ।

बुद्धचोकमा र पशुपतिमा धार्मिक युद्ध चले जस्तो गरी कब्जियत बल गरेर चिच्याएको चिच्याए छन् । त्यही कराउनेहरु नै जातिवादी र साम्प्रदायिक सोंच भएको मान्छे हो भन्ने कुरा हामीले प्राप्त गरेको ज्ञानले भन्छ ,हैन र कमरेड । एउटा सत्य कुरा हो देश कलम र बन्दुकले चलाउँछ । चलाइरहेको छ र चलाउने छ ।

हिजो राजा महाराजले मुखले चलाउँथे । आज पनि कोशिस गरिरहेको छ बोली विक्दा सम्म । तर सचेत दुनियाँमा हिजोको जस्तो महाराजको बोली कानुन हुने स्थिति बिल्कुल होइन बरु आफू अनुकूल नभए संविधान बेवास्ता गर्ने जमात मस्तै छन् अहिले पनि । यो पनि एक प्रकारको सामन्तवाद नै हो । सामन्तवादको विशेषता नै अपारदर्शिता हो भने पूँजीवादको अराजकता यी दुईवटै कुरा हामी अवलम्बन गर्न सक्दैनौँ ।

हतियार बलियो की कलम बलियो वादविवाद हुन्थ्यो हिजो । दुईवटा चीज नै बलियो रहेछ । एउटाले संविधान, कानुन, नियम, कार्यविधि, मापदण्ड र आचारसंहिता लेख्छन् । एउटाले त्यसको रक्षा र शासनको रखवारी गर्छन् । त्यो दुई वटा चीज कुनै जात विशेषले आफ्नो मुठ्ठीमा राख्दा जातिवाद भएन । त्यही कलमले लेखेको कुरा कार्यान्वय गर्नुपर्छ भन्दा म जातिवाद भएँ । हो कमरेड म संवैधानिक जातिवादी हूँ । हिजो एकल पहिचानको मुद्धा छोड्न जसले बाध्य बनाए उसैले बहुपहिचानको मुद्धा छोड्न दबाब दिन थालेको छ । म माथि धम्कीको गन्धे श्वास फ्याकिरहेको छ । जबकि म उसले आफ्नो कुरा लादेर संविधानमा उल्लेखित भए बमोजिम बोलिरहेको छु ।

पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान, पहिचान पनि भेटिन द्वन्द पनि मेटिने भनेर मुख्य सबै राजनीतिक दलहरुले सहमतिको दस्तावेजको रुपमा जारी गरिएको संविधान लाई पूजा गरेर, दीप प्रज्वलन गरेर हामी जस्ता मन अमिलो गरेर बस्नेहरुलाई जिस्काउनेहरु उसले नै पूजा गरेको संविधानमा उल्लेख धारा र उपधारासँग सम्बन्धित रहेर संविधानको कार्यान्वयन र संघीयताको संस्थागत विकासको कुरा गर्दा म कसरी जातिवादी भएँ ? आत्मनिर्णयको अधिकार नभएको संघीयता र विशेष अधिकार नभएको पहिचान स्वीकार्न सकिँदैन थियो तर स्वीकार गरियो कारण हो चेतनाको दुरी धेरै फराकिदा पनि सम्बन्धहरु बिग्रन्छ । भत्कन्छ । जन चाहनाको कदर नै जनता प्रतिको सम्मान हो ।

क्षितिज उताको संसार जति सुन्दर र रमणीय भए पनि देखेको संसार सँग दाँजेर कल्पिने हो मान्छे । त्यसैले कल्पनाको बहुरंगी यात्रा भन्दा यथार्थताको साधा जीवन यात्रा ले सार्थकता पाइन्छ । हामीले त्यही स्वीकार गर्यौँ धेरै कुरा गुमाएर, अनि हामी जातिवादी ? । भैगो यो भन्दा जातिवादी बन्न असमर्थ छु म । जातिवाद र साम्प्रदायिक मुर्दावाद ।

हामी नेपाली समान छौँ । मधेशी जस्तो देखेपछि हजुरबाजे उमेरको मान्छेलाई अनादर गर्न छोड । यो देशी हरुले नेपालीलाई ठग्छ भन्ने चेतनाको गोबर फालेर नेपाली चेतको दायरा बढाऊ । पदलाई मात्र मान्ने सामन्ती सोचबाट अलि माथि उठेर हरेक मानिसको आत्मसम्मानको निम्ति सचेत बनौं भनेर सबै जाग्ने बेला कोही जातिवादी र साम्प्रदायिकताको पक्षपोषण गर्न नदिनु हाम्रो कर्तव्य हुन्छ । हामीलाई साटो होइन बाटो चाहिएको छ । हामीलाई बाटो भन्दा माटो चाहिएको छ । मेरो माटो मेरो नेपाल , मेरो माटो नेवाः ताम्सालिङ । मेरो माटो मेरो पुस्तौं पुस्ताको लागि। जय नेवाः ताम्सालिङ ।

कमरेडद्वय अन्तमा, हामी तपाईहरुको आदेश पालक हौं । सबै कुरा मान्न तयार छौँ । तपाईंले नै भन्नुभएको थियो – सत्य सँग नलडौं , शक्ति सँग नझुकौ । अनि तपाईंले नै भन्नुभएको थियो- पहिचानको आधारमा पद बहाल गरेका हरेक मान्छे मेरै कार्यकर्ता जस्तो लाग्छ ।

हामी तपाईंकै कार्यकर्ता हौं सत्य संग नलड्ने । शक्ति संग नझुक्ने । हो हामी सत्यकै पक्षमा छौँ । हामी तपाईहरु मै समर्पित छौँ । हामी तपाईंकै सिपाही हौं । तर सडकमा उत्रिएका साङ्केतिक सचेत विद्रोहलाई ऐनजिओ को उक्सावट ठान्ने धृष्टता र मुर्खता गरेर हामीलाई अपमान गर्न नियत लालयित छ भने त्यो तपाईंहरूका लागि महँगो मूल्य पर्नेछ । समयमै चेत आओस् भन्दै कलम बिसाउन अनुमति चाहन्छु । जय नेवाः ताम्सालिङ ।

तपाईँको आज्ञाकारी कार्यकर्ता
ओम बहादुर ग्लान ( प्रदीप वालाचन)
नेवा: ताम्सालिङ प्रदेश, हेटौंडा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*