‘तिप्लिङ तामाङ’

अनुराग बनस्तम
२० श्रावण २०७७, मंगलवार ११:४९

तिम्रो बजारिया मथिङ्गलको छिद्राबाट
चुहेर स्याक्स जस्तै सुस्त बगिरहेको चेतना
मिसिएर नबगेकै राम्रो
कन्चन बगिरहने दुङ्गु, गोराङदी संग,
एनजीओले आयोजना गरेको सेमिनारमा टक्र्याएको ज्युनार लिंदै होटल एभोकाडोको पश्चिम ढोकाबाट अभिमानी डकार प्रतिध्वनित भएर
फर्कियोस भैरब डाडाबाट फारलाएन तिरै !

कमरेड हाम्रो भेट दोभानमा भएको हो !
तिमी बासनादार चमेली तेल लगाएर
बसपार्कको होटलहरु चहार्दै गर्दा
हामी परिबर्तनको बिगुल फुक्दै
राक्सिराङ्गको पाखा पखेरामा
नवीन उज्यालो जन्माउन
आगोको तालिममा थियौं !

तातो भात र तातो बारुद मुछेको
अनुभूति एउटै होईन
तिमी बस्ने कुर्सिको दाहिने छेवैमा उभेर
तिमी संगै समाजबादको प्रशिक्षण सुनिरहेको
घाईते कमरेडको नाम तिप्लिङ तामाङ हो,
बरु सोध्नु हामिले खपेको
भोक निद्राको फरक…
फिलिम हलको डिजिटल साउण्ड
र बमको धमाकाले थर्किएको छातिको अनुभुति फरक हुन्छ कि एउटै ?
शाषकको बुटको प्रहारबाट
बान्ता गरेको आलो रगत
रक्सिको ह्याङओभरले बिहानै मुखबाट निकालेको अमिलो पानी
फरक हुन्छ कि एउटै ?
कमरेड !
नाकको कद नापेर
ननाप्नु हाम्रो हैसियत ?
सक्छौ भने टाउकोमा छर्रा बोकेर बाचिरहेको
तिप्लिङ तामाङले
बटुलेको मृत्युको अनुभुती नाप्नु,
जो तिमी बस्ने कुर्सिको दाहिने छेवैमा उभेर
तिमिसंगै समाजबादको प्रशिक्षण
ध्यानमग्न सुनिरहेको छ !!

अनुराग बनस्तम
      हेटौडा, मकवानपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*