डम्फु साझ युएईको तयारी पुरा, दर्जनौ कलाकारहरुको प्रस्तुति रहने

युएई – तामाङ समुदायको सांस्कृतिक चिनारी रहेको डम्फुको सांगीतिक कार्यक्रम ‘डम्फू साँझ’ युएईमा पहिलो पटक बृहत सांस्कृतिक कार्यक्रम पुरा भएको छ । सांस्कृतिक पहिचानको रुपमा चिन्ने डम्फू पछिल्लो समय तामाङ गीतसंगीत देखि चलन चल्तिको चाडपर्व रीतिरिवाजहरुमा समेत कम प्रयोग हुँदै गएको आयोजकको भनाइ छ ।
भविष्यमा डम्फू लोप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै डम्फूको प्रचारप्रसार र सांस्कृतिक जगेर्ना गर्दै समुदायलाई एकताबद्ध गर्ने उदेश्यले युएईमा रहेका नेपाली युवाहरुको समुहले ‘डम्फू साँझ’ कार्यक्रम आयोजना गरेको हो । “हाम्रो डम्फू हाम्रै शान, यसैमा छ तामाङ पहिचान” भन्ने मुल नाराका साथ युएईको देरादुबई स्थित कार्ल्टन टावरमा हुन लागेको उक्त कार्यक्रममा नेपालबाट तामाङ सांगीतिक जगतका ख्याती प्राप्त कलाकारहरु समेत प्रस्तुति रहेको कार्यक्रम संयोजक सुरेन्द्र तामाङले बताए ।
सेलो गायिका इन्दिरा गोले, जितु लोप्चन, गायक विश्व दोङ, फूलकुमार बम्जन, म्हेन्दोमाया गायक सुमन घले, तामाङ चलचित्रको नायक तथा निर्माता अमिर दोङ तामाङ, नायिका सुनिता लुङ्बा, सुस्मा मोक्तान र कार्यक्रम उद्घोषिका स्मारिका थिङ तामाङ लगायत सहभागी रहने आयोजकले जनाएका छन् ।
१९ अप्रिलका दिन दिउँसो १ बजे सुरु हुने उक्त कार्यक्रमको लागि आयोजक समूह युएईको विभिन्न शहरहरुमा पुगेर त्यहाँका क्रियाशील संघसंस्थाका प्रतिनिधिहरु संग कार्यक्रमको आह्वन गर्दै तिब्र प्रचारप्रसार गरेको छ ।
डम्फू साँझ कार्यक्रमका लागि मुख्य प्रायोजको रुपमा फिस्टल ट्राभल्स एण्ड टुरिजम एलएलसि संगै पुरानो नेपाली रेष्टुरेन्ट, नशा दोहोरी साँझ, एनपिएल ग्लोबल, बराहा ज्वइलरी, बराहा मिनि मार्केट, कन्चनजंगा रेष्टुरेन्ट, नेपाली गोल्स सप, रोयल डिसकभरि लगायत रहेका छन । अप्रिल १७ तारिकका दिन कलाकारहरु युएई पुग्ने संचारकर्मी अनिस दोङले बताए ।