नौ वटा कार्यपत्रमा छलफल गर्दै चौथो तामाङ ज्ञान महोत्सव सकियो
भाद्र ७, काठमाडौं – ८७ औं तामाङ पहिचान दिवसको अवसरमा काठमाण्डौमा चौथो तामाङ ज्ञान महोत्सव बिबिध कार्यक्रम गरि मनाइएको छ । तामाङ डाजाङ, तामाङ न्हाङ्खोर, ताम्बा संघ, नाङसाल क्लव र कर्तव्य फाउण्डेसनको संयुक्त आयोजनामा महोत्सव काठमाडौंको भृकुटीमण्डप स्थित नेपाल टुरिजम वोर्डको हलमा दुईदिन सम्म भएको थियो ।
कार्यक्रमको पहिलो दिन (शुक्रबार) पूर्व कानुनमन्त्री एवं संघीय सांसद शेरबहादुर तामाङले महोत्सवको उदघाटन गर्नुभएको थियो । हाम्रो पहिचानलाई जोगाई राख्ने हो भने पछिल्लो पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । हामी सँग भएका धर्म, संस्कृति, परम्परा हाम्रो ज्ञान हो, यस्ता किसिमका कार्यक्रमले तामाङ ज्ञानलाई हस्तान्तरण गर्नमा मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले भन्नुहुन्छ, पहिचान दिवस ऐतिहासिक महत्त्व बोकेेको भएर सम्झन्छौँ, हाम्रो तामाङ ज्ञान, जीवन दर्शनलाई नबुझ्नाको कारण हामी तामाङहरु विभिन्न थर लेख्छौ त्यो सरासर गलत हो ।
त्यस्तै, डा. लक्ष्मी तामाङले ‘शब्दः एक शक्तिशाली हतियार’, नेपाल सरकारका पूर्व सचिव धनबहादुर तामाङले ‘तमङ घ्यो इ ल बिशेष घ्यो’ इ ठिम् (व्याकरण) तेन् मानक घ्यो’इ ल’, आदिवासी फिल्म निर्देशक संजोक लाफामगरले ‘तामाङ फिल्ममा तामाङ प्रक्षेपण’, काठमाडौं विश्वविद्यालयका प्राविधिक विभाग प्रमुख बलकृष्ण बलले ‘प्रविधिको दृष्टिकोणबाट तामाङ भाषा’ सञ्चारकर्मी बुद्ध योन्जनले ‘रेडियोमा तामाङ भाषा प्रसारणको अवस्था’ विषयमा छलफल चलेको थियो ।
यसैगरी दोस्रो दिन लेखक निष्णु थिङले ‘ सरकारी सेवामा तामाङ’, डा. सोमबहादुर धिमालले ‘तामाङ संस्कृतिलाई जोगाउनमा तामाङ युथको भुमिका’, त्रिचन्द्र कलेजका प्राध्यापक कर्मा डि. लामाले ‘सामाजिक आन्दोलन: परिभाषा’,शंकरदेव कलेजका प्राध्यापक रमेश के. तामाङले ‘तामाङ महिलामा पेवा प्रथा’ विषयमा छलफल भएको थियो ।
महोत्सवको पहिलो दिन छलफल सेसनमा तामाङ राजनीतिमा चुनौती विषयक छलफलमा मानवशास्त्री डा. मुक्तसिंह तामाङ, संघीय सांसद नविना लामा, नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष कवेलबहादुर तामाङ र संघीय समाजवादी पार्टीका नेता रविन्द्र थिङ रहनुभएको थियो भने दोस्रो दिनको छलफल सेसनमा तामाङ साहित्यमा चुनौती र सम्भावना विषयक छलफलमा सञ्चारकर्मी तथा साहित्यकार सन्चु ब्लोन, राजु स्याङ्तान, फुलमान बल, लेखक धनम तामाङ रहनु भएको थियो ।
पुराना मान्छेका पुराना कुरा विषयक टक शोमा श्यामकुमार तामाङ, सुकन्या वाइबाले आफ्ना जीवन भोगाइका कुराहरु राख्नुभएको थियो । तामाङ समुदायको मौलिक ज्ञान पुस्तान्तरण गर्नका साथै राजनीतिक आस्थाले विभाजित समुदायका अगुवालाई एक ठाउँमा उभ्याई अर्थपुर्ण छलफलका लागि साझा मञ्च तयार पारिएको आयोजक तामाङ डाजाङले जनाएको छ । ज्ञान महोत्सवको पहिलो दिन र दोस्रो दिन गरि विभिन्न ९ वटा कार्यपत्रमाथि छलफल गरिएको थियो ।






