टिएसएनएको विधान संशोधन गर्दै साधारणसभा सकियो, तीन महिनामै ५० हजार डलरको कोष जुटाउन सफल
असोज १, अमेरिका – उत्तर अमेरिकामा रहेको तामाङ समुदायको संस्कृति, संस्कार, भेषभुषा, धर्म, भाषा, आर्थिक, शैक्षिक, सामाजिक क्षेत्रको विकास, संरक्षण, सम्बर्द्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था तामाङ सोसाईटी अफ नर्थ अमेरिका (टिएसएनए) को प्रथम वार्षिक साधारण भएको छ ।
सेप्टेम्बर १४ र १५ तारिखमा अमेरिकाको डिसि, मेट्रो एरियामा आयोजित साधारण सभा बुद्ध धर्म परम्परा अनुसार प्रार्थनापछि कार्यक्रमको प्रमुख अतिथि नेपाल जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष मान रानामगर र टिएसएनएका अध्यक्ष लक्यान लामाले दीप बालेर आरम्भ गरेका थिए ।
कार्यक्रममा टिएसएनका अध्यक्ष लामाले सबैको सहयोगमा यो यात्रा जारी रहेको बताए । उनले भने, ‘लामो समय काम गरेको अवस्थामा सबैको भावनालाई समेट्नु नै चुनौति थियो । सल्लाहकारको सहयोगमा टिएसएनए साढे एक वर्षको दौरानमा छौ । अब नयाँ योजनाका साथ अघि बढ्नुपर्छ भनेर अघि बढेको घडीमा छौ ।’ समूदायमा पर्न जाने आपतकालीन सहयोगका लागि ५० हजार डलरको कोष बनाएका छौं । त्यो एक वर्ष भित्र पुरा गर्ने योजना थियो तर तीन महिनामै सफल भयो । यसले अरु काम गर्न पनि हौसला दिएको छ ।’
विशेष अतिथि डा श्याम लामा बलले तामाङ समाज यसरी फैलिएकोमा आफूलाई एकदमै खुसी लागेको बताए । उनले भने, ‘अमेरिकामा आएपछि धेरै संस्थासँग हेलमेल गर्ने अवस्था आयो । कति संस्था बिलाउँदा जाँदा हाम्रो संस्था अघि बढेको छ, फैलिएको छ । झिनामसिना कुरालाई बिर्सेर अघि बढ्नुपर्छ ।’
प्रमुख अतिथि फिप्नाका अध्यक्ष मान रानामगरले टिएसएनको भुमिका प्रशंसनीय रहेको भन्दै शुभकामना व्यक्त गरेका थिए । समाजका सल्लाकारहरु सुबास लामा, इन्द्र तामाङ, भरत लामा, सूर्य तामाङ, सन्तोष घिसिङ, लोक लामा गोले, फुर्बा घिसिङ, नेत्र घिसिङ, डिगबहादुर तामाङ, तामाङ सोसाइटी अफ न्युयोर्ककी अध्यक्ष गोमा योन्जन, तामाङ कोअपरेसन सोसाइटी क्यालिफोर्नियाका अध्यक्ष प्रेम लामा दोङ, तामाङ सोसाइटी अफ ग्रेटर वासिङटन्की पूर्व महासविव रोजी लामा लगायतले शुभकामना दिएका थिए ।
सभामा गायकहरु सन्जोक योन्जन र सागर वाइबालाई प्रस्तुतीका लागि प्रसंशपत्र प्रदान गरिएका थिए । दुई दिने सभाले केन्द्रीय प्रणालीमा सञ्चालन हुँदै आएको संस्था संघीय प्रणालीमा सञ्चालन हुने गरी विधान संशोधन गरिएको छ । इभरेस्ट टाइम्स न्युज डटकमबाट






