आइटिसीको खाडी तथा मध्य पूर्वक्षेत्रीय सम्मेलनको औचित्य

टासी लामा तामाङ
१२ मंसिर २०७६, बिहीबार १८:१३

नेपालको पछौटे विकास नीति र लामो अस्थिर राजनीतिको कारण ठूलो संख्यामा युवाहरु बेरोजगार समस्यामा छन् । ऐतिहासिक उत्पीडन र विवेधकारी नीतिले राज्यको स्रोतसाधन लगायत अन्य अवसरको क्षेत्रमा तामाङ समुदायको पहुँच अत्यन्त न्यून छ र तुलनात्मक हिसाबले यो समुदायमा युवा बेरोजगार बढी बिकराल समस्याको रुपमा रहेको छ ।

बैदेशिक रोजगारमा अत्यधिक युवाहरुको विकल्प बन्दै गर्दा गरिवीको चपेटा र शिक्षाबाट टाढा रहेको अधिकांश तामाङ युवाहरु विकसित मुलुकहरुमा प्राप्त शिक्षा, रोजगार, ब्यापार लगायतको अवसरहरुमा आफ्नो पहुँच पुर्याउनु निकै कठिन विषय बनेको छ । जब खाडी मुलुकको शहरहरु विश्वको व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गयो र ती शहरहरुमा भौतिक पुर्वाधार निर्माण र अरु व्यापारिक गतिविधिहरु संचालन गर्न ठूलो जनशक्तिको आवश्यक भयो, खाडी मुलुकहरुमा हाम्रो समुदायको अत्याधिक युवाहरुको आकर्षणको केन्द्र बन्यो । र, वैदेशिक रोजगारको सिलसिलमा सबै भन्दा धेरै तामाङ युवाहरु रहेको क्षेत्र खाडी बन्यो ।

निम्नमध्यम बर्गीय युवाहरुको पहुँचमा रहेको खाडी क्षेत्रमा अत्याधिक तामाङ समुदाय रहनुले समुदाय माथिको उत्पीडन र पहिचानकै आधारमा गरिएको विभेदले सिङ्गो समुदाय उत्पीडित वर्गको रुपमा स्थापित भएको प्रष्ट हुन्छ । त्यसैले तामाङ समुदायको मुक्तिको सवाल पहिचान संगै वर्ग पनि उतिकै महत्वको विषय बनेको छ ।

खाडी मुलुकहरुमा अप्रवासन वा स्थायी बसोबासको व्यवस्था नरहेकोले ती मुलुकहरुको स्थित हाम्रो समुदायहरुको चासो र सम्बन्ध तत्कालको रोजगार बाहेक सम्पूर्ण रुपले नेपाल संग नै अविछिन्न रहेको छ । नेपाल संग मातृभूमिको भावनात्मक मात्रै नभएर दैनिक रुपमा व्यवहारिक सम्बन्ध रही नै रहन्छ र नेपालमा हुने सबै राजनीतिक र सामाजिक घटना परिघटनाहरु संग प्रत्यक्ष रुपमा आफ्नो जीवन व्यवहार जोडिएको हुन्छ ।

अन्तराष्ट्रिय तामाङ परिषदको खाडी तथा मध्य पूर्व क्षेत्रीय सम्मेलन यही नोबेम्बर २९ मा ओमनको राजधानी मस्कटमा आयोजना हुँदैछ । खाडी तथा मध्य पूर्व क्षेत्रीय समन्वय समितिको आयोजना र तामाङ समाज ओमनको व्यवस्थापन/आतिथ्यतामा आयोजना हुन लागेको उक्त सम्मेलनमा खाडी क्षेत्रको ७ देशको सदस्य संस्थाहरुले भाग लिदैछन् । हाम्रो समुदायको बसोबासको स्थितिलाई विश्लेषण गर्दै अन्तराष्ट्रिय तामाङ परिषदले ती देशहरु स्थित संस्थाहरुलाई राष्ट्रिय सदस्यको मान्यता दिएको छ । यसको अर्थ हुन्छ मूल रुपले ती संस्थाहरुको चासो र चिन्ता स्थाई सदस्य राष्ट्र नेपाल संगै रहन्छ भन्ने हो ।

त्यसैले नेपालमा पहिचान र अधिकारको आन्दोलन नै निष्कर्षमा पुर्याउनु पर्ने र समुदायको आर्थिक तथा सामाजिक सवालहरुमा ठोस पहलहरु अगाडी बढाउनु पर्ने सन्दर्भमा सबैभन्दा धेरै प्रवासी तामाङ युवाहरु रहेको क्षेत्रको सम्मेलनलाई विशिष्ट महत्वका साथ हेरिएको छ । उक्त सम्मेलनमा गरिने बहस, छलफल र निष्कर्षहरुले समुदायमा दुरगामी महत्व राख्दछ ।

अरु क्षेत्रीय सम्मेलनमा जस्तै यो सम्मेलनले मुख्यत ३ विषयहरुमा छलफल गर्दै निर्णयहरु लिनेछ । पहिलो अन्तराष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलनले व्यवस्था गरे अनुसारको क्षेत्रीय संरचना निर्माण, दोस्रो क्षेत्रीय स्तरको साझा सवालहरु, समन्वय र तेस्रो चौथो अन्तराष्ट्रिय सम्मेलनले पारित गरेको एकीकृत कार्यक्रममा सहयोग र सहभागिता ।

पहिलो विषयमा नियमित प्रकृया अनुसार नै हुनेछ । दोस्रो खाडी क्षेत्रको महत्वपूर्ण साझा विषय भनेको सुरक्षित रोजगार र जोखिममा परेकाहरुलाई उद्दार गरिनु हो । यो क्षेत्र गम्भिर र संबेदनशील विषय भएकोले बृहत्तर छलफल गरेर एउटा ठोस योजना र कार्यक्रम निर्माण गरिनु पर्ने हुन्छ ।

खाडी देशमा स्थित नियमित सांस्कृतिक र सामाजिक कार्यक्रमहरुमा साझा सहभागिताको लागि समन्वय गर्ने योजना पनि तय गर्न सकिन्छ । तेस्रो अधिकांशको आर्थिक हिसाबले एउटा स्तरको हैसिय कायम हुँदै गरेको सन्दर्भमा परिषदको केन्द्रीय योजना अन्तर्गत समुदायको शैक्षिक, सास्कृतिक र आर्थिक विकासमा योगदान पुग्ने गरि विशेष कार्ययोजना तर्जुमा गरिनु पर्ने हुन्छ । नेपालमा चल्दै गरेको समुदायको पहिचान र अधिकारको आन्दोलनमा सहयोग र सहभागिता अर्काे महत्वपूर्ण विषय हो ।

त्यसैले यी सबै विषयहरुमा प्रभावकारी योजना र कार्यक्रमहरु निर्माण गर्न अग्रज एवम् विज्ञहरुको सल्लाह/सुझाव, समुदाय र शुभचिन्तकहरुको सहयोग र सबै सदस्य वा संस्थाहरुको सकृय सहभागिता आवश्यक रहन्छ र यसैको आधारमा सम्मेलनले ऐतिहासिक सफलता प्राप्त गर्नेछ । (लेखक टासी लामा तामाङ अन्तराष्ट्रिय परिषदको बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*